बंगलादेशको वैदेशिक मुद्रा सञ्चिति २० अर्ब अमेरिकी डलर पुग्यो

दुई वैश्विक ऋणदाताको ऋण केन्द्रीय बैंकको खातामा जम्मा भएपछि बंगलादेशको विदेशी मुद्रा भण्डार २० अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ । यसबाट लामो समयदेखि विदेशी मुद्राको सञ्चितिमा भएको गिरावट रोकिएको छ । बंगलादेश बैंकका कार्यकारी अधिकृत तथा प्रवक्ता मोहम्मद मेजबुल हकले पत्रकारहरुसँग ६८ करोड ९० लाख डलर अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) र ४० करोड डलर एसियाली विकास बैंक (एडीबी) बाट आएको जानकारी दिए ।

उनका अनुसार वैश्विक ऋणदाताबाट केन्द्रीय बैंकको खातामा १ अर्ब ९ करोड डलर ऋण प्राप्त हुनुअघि बिहीबार मुलुकको वैदेशिक मुद्रा सञ्चिति १९ अर्ब १७ करोड डलर थियो । विश्वव्यापीरुपमा आयात लागतमा उल्लेख्य वृद्धि हुनुका साथै विप्रेषण र निर्यातबाट हुने आम्दानी अपेक्षाकृत कम हुँदा विदेशी मुद्रा सञ्चिति घट्ने क्रम जारी छ ।बंगलादेशको सबैभन्दा उच्च वैदेशिक मुद्रा सञ्चिति सन् २०२१ मा ४८ अर्ब डलर थियो ।

यद्यपि अन्तर्राष्ट्रिय उथलपुथलका कारण २०२२ को सुरुआतदेखि नै सञ्चितिको दर घट्दै गएको देखिन्छ । खुम्चिँदै गएको वैदेशिक मुद्रा सञ्चिति बढाउनका लागि केन्द्रीय बैंकले गत वर्ष धेरै उपाय अवलम्बन गरेको थियो । बैंक अन्तर्राष्ट्रिय कारोबारमा चिनियाँ युआनको प्रयोगसहित वैकल्पिक मुद्रा व्यवस्थामनमा लागेको छ।

Comments

Back to top