आईपिओ भरेबापत् ठगिँदै लगानीकर्ता, बैंकको सी-आस्वा शुल्क चर्को ?

पछिल्लो समय साधारण शेयर (आईपिओ) प्रति सर्वसाधारणहरूको आकर्षण बढ्दै गएको छ । कुनै पनि कम्पनीले आईपिओ निष्काशन गर्ने वित्तिकै लगानीकर्ताहरू झुम्मिने गरेका छन् । दोस्रो बजारमा भन्दा प्राथमिक बजारमा जोखिम कम हुने भएकाले आईपिओप्रति लगानीकर्ताहरूको आकर्षण बढेको हो ।

अनलाइनले गर्दा अहिले आईपिओका लागि निवेदन दिन पहिले जस्तो बैंकमा घण्टौं लाइन लाग्नु पर्ने झण्जट छैन । घरघरबाटै यसको काम गर्न सकिने अवस्था छ । मेरो शेयर मार्फत आवेदन दिँदा पहिले कुनै शुल्क नलाग्ने गरेकोमा अहिले भने सबैजसो बैंकहरुले निश्चित शुल्क लिने गरेका छन् ।

लगानीकर्ताले आईपिओमा आवेदन दिए बापत बैंक तथा वित्तीय संस्थाले फरक फरक शुल्क लिने गरेको पाइएको छ । मोवाइल फोन प्रयोगकर्ताले मेरो शेयरमार्फत आईपिओ भर्ने गरेसँगै बैंकहरुले पनि यसमा शुल्क लिने गरेका हुन् ।

लगानीकर्ताहरूले साधारण सेयर (आईपिओ) मा आवेदन दिँदा कतिपय बैंक तथा वित्तीय संस्थाहरूले निःशुल्क सेवा दिइरहेका छन् भने धेरैजसो बैंकहरू तथा वित्तीय संस्थाले सी–आस्वाको नाममा १०० रुपैयाँसम्म शुल्क लिइरहेका छन् ।

यसरी सी–आस्वा सेवा बापत बैंकहरूले लिएको शुल्कमा लगानीकर्ताहरूको गुनासो रहेको छ । यसअघि निःशुल्क सेवा दिइरहेको ग्लोबल आईएमई बैंकले प्रतिआवेदन १५ रुपैयाँ र सानिमा बैंकले प्रतिआवेदन २० रुपैयाँ सी–आस्वा शुल्क लिन थालेका छन् ।

२७ वटा वाणिज्य बैंकहरूमध्ये ४ वटा वाणिज्य बैंकहरूले भने सी–आस्वाबाट आईपिओ भरेवापत निःशुल्क सेवा दिइरहेका छन् । २३ वटा वाणिज्य बैंकहरूले सी–आस्वा शुल्क लिने गरेका छन् । जसमध्ये एकपटक आईपिओ भरेबापत स्ट्यान्डर्ड चाटर्ड बैंकले सबैभन्दा बढी अर्थात १०० रूपैयाँ सी–आस्वा शुल्क लिने गरेको छ । यसका साथै अन्य बैंकहरुले पनि १० रुपैयाँदेखि २५ रुपैयाँसम्म शुल्क लिएको पाइन्छ ।

त्यस्तै लक्ष्मी बैंक, नेपाल बैंक, नेपाल एसविआई बैंक, सेन्चुरी कमर्सियल बैंकले एक पटक आईपिओ भरेबापत २५ रुपैयाँ सी–आस्वा शुल्क लिने गर्छन् । त्यसैगरी, कृषि विकास बैंक, बैंक अफ काठमाण्डू, नेपाल बंगलादेश बैंक, सिभिल बैंक, माछापुच्छ्रे बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक र नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकले प्रतिआवेदनको १० रुपैयाँ सी–आस्वा शुल्क लिने गरेका छन् ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, एनएमवि बैंक, सिटिजन इन्टरनेशनल बैंक, एभरेष्ट बैंक र कुमारी बैंकले प्रतिआवेदनको सी–आस्वा सेवा शुल्क २० रुपैयाँ लिने गरेका छन् । ४ वटा वाणिज्य बैंकले सी–आस्वा वापतको रकम लिने गरेका छैनन् । यसरी शुल्क नलिने बैंकहरुमा नबिल बैंक, एनआइसी एसिया, राष्ट्रिय वाणिज्य बैंक र मेघा बैंक लिमिटेड रहेका छन् ।

यसरी निःशुल्क दिइरहेको सेवामा एकाएक शुल्क लिन थालिएपछि यसबाट लगानीकर्ताहरुले आफूहरु ठगिने गरेको अनुभव गर्न थालेका छन् । कुनै कम्पनीले आईपिओ निष्कासन गर्ने वित्तिकै कम्तिमा पनि २५ लाखले आवेदन दिने गरेका छन् । तर कम्पनीहरुले निष्चित कोटा मात्र निर्धारण गरेका कारण कोटाभन्दा बढी पाउँदैनन् ।

उदाहरणका लागि, राष्ट्र उत्थान लघुवित्तको आईपीओमा मागभन्दा ३८.३० गुणा बढी आवेदन पर्यो । २६ लाख २६ हजार ९० जना आवेदकबाट ३ अर्ब ४ करोड ३१ लाख ३७ हजार रुपैयाँ बराबरको ३ करोड ४ लाख ३१ हजार ३७० कित्ता शेयरका लागि आवेदन परेको थियो । तर कम्पनीले जम्मा ८ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिसाधारण शेयर १०० रुपैयाँ अंकित दरका ८ लाख ५० हजार कित्ता आईपीओ मात्र सर्वसाधारणमा वितरण गर्नेगरि आवेदन आव्हान गरेको थियो ।

जसमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १३ हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो । यी बाहेक बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो । यसबाट जम्मा ७९ हजार ४५० जनाले १० कित्ता शेयर पाए ।

आवेदन दिएका मध्ये २५ लाख ४६ हजार ६४० जनाको हात खाली भयो । तर आवेदन दिएको शुल्क भने उनीहरुको एकाउण्टबाट घट्यो । सरदरमा एक आवेदकको १५ रुपैयाँका दरले मात्र हिसाब गर्ने हो भने पनि ३ करोड ८१ लाख ९९ हजार ६०० शुल्क उठ्यो । तर यसरी काटिने शुल्क १५ रुपैयाँ मात्र छैन । बैंक अनुशार १०० रुपैयाँसम्म छ । त्यसैले यस्तो शुल्कबाट उठ्ने रकम अझै बढी हुन जान्छ ।

यो एउटा उदाहरण मात्र हो । सर्वसाधारणबाट शुल्क लिइएको यस्तो पैसा सिधै बैंकलाई नै फाइदा हो । यता थोरै रकम जस्तो लागे पनि लगानीकर्ताहरु भने सबैजसो बैंकबाट सी–आस्वा सेवाबाट ठगिने गरेका छन् । अहिले २६ कम्पनी आईपिओ जारी गर्ने पाइपलाइनमा छन् ।

उनीहरुले आईपिओ जारी गर्ने वित्तिकै लगानीकर्ताहरुले सी–आस्वा शुल्कतिर ध्यान दिँदैनन् । छिटो आवेदन दिन पाए हुन्थ्यो भन्नेतिर मात्र ध्यान दिन्छन् । शुल्क कटाएपछि आईपिओ परे त केही थिएन, तर नपरे पनि आवेदन दिनेको उस्तै भीड हुने हुँदा सी–आस्वा शुल्कबाट ठगिएको लगानीकर्ताले पत्तै पाएका छैनन् ।

यस्तो आवेदनबाट सानो सानो रकम भने पनि काटिँदै जाने हुँदा सर्वसाधारण मर्कामा परेका छन् । बैंकहरु भने फाइदा कमाइरहेका छन् । तर पनि कसैले केही आवाज उठाएको पाइँदैन । नियामक निकायहरुले यसतिर सोच्न जरुरी छ ।

स्रोत: bankingkhabar

Comments

Back to top