सुशान्तकाे विट्टीज होटलमा आफै खाना पकाएर खान सकिने !
पाटन मन्दिर वरपरको रमाइलो हेर्नेको भीडभाड हरेक दिन लगभग उस्तै हुन्छ । खासगरी, सो क्षेत्रमा युवायुवतीहरु बढी रमाउने गर्दछन् । यस्तै पाटन ढोका नजिकै रहेको नयाँ पुस्ताको झुण्ड भेटिने एक स्थल हो "विट्टिज" होटल ।
पाटन ढाेकाबाट ५० मिटर अगाडि, पाटन मल्टिपल क्याम्पसको छेवैमा रहेको मन्दिरबाट दाहिने बाटो समातेर दुई घर अगाडि देब्रेपट्टि छ विट्टिज होटल । ३० वर्षिय सुशान्त तिमिल्सिनाको विट्टीज होटल अघि नै विट्टीज कफी पनि चर्चित छ।
सात महिना अघि खोलिएको विट्टिज होटलमा पस्ना साथ नेवारी संस्कृति झल्किन्छ । होटलमा कलात्मक झ्याल ढोका, आँगन, पेन्टिंग्सलगायत पुरै परिवेशले नै नेपालीपन दिन्छ ।
विट्टीज होटलमा कफी, खाजादेखि बाससम्म पाइन्छ । ग्राहकले बस्ने कोठामात्र नभएर खाना पकाउन भान्सा समेत यस होटलले उपलब्ध गराउने संचालक सुशान्तको भनाई छ । नेपाली तथा विदेशी पर्यटकलाई ध्यानमा राख्दै यो होटल निर्माण गरिएको सुशान्त बताउँछन् । "पाटनको मौलिकतालाई झल्काउन खोजेका छौं । साम्प्रदायिक भावना र संस्कृतिलाई जोगाउनमा म केन्द्रित छु," उनी भन्छन् ।
करिब एक करोड २० लाख रुपैयाँको लगानीमा बनेको यस होटलमा ९ वटा कोठा छन् । यस होटलका कोठामा तयार भएको भान्सामा प्यान, इन्डक्सन, माइक्रोवेभ वोभन, ग्यास चुलो राखिएको छ । ग्राहकले आएर यहाँ खाना पकाएर खान सक्नेछन् । होटलमा महिनाभर, साताभर वा एक दिन मात्र पनि बस्न सकिनेछ ।
४ वटा सिम्पल डिलक्स रुम, अपार्टमेन्ट जस्तो देखिने ३ वटा सुपर डिलक्स रुम यस होटलमा बनाइएको छ । त्यस्तै गरी, तीन जनाको परिवारलाई उपयुक्त हुने २ वटा फेमिली रुम पनि रहेको सुशान्त मान्छन् । "अहिले साथीभाई, जोडी वा परिवार आउँदा आफै पकाएर खाना पाइयोस् भन्ने सोंच हुन्छ । पर्यटनलाई पनि ध्यानमा राख्दै यस्तो होटलको परिकल्पना गरिएको हो," उनी सुनाउँछन् ।
त्यस्तैगरी, खाजामा नेवारी खाजा प्लाटर (समयबजी), किमा नुडल्स पनि यहाँ रुचाइने खाजा मध्येको एक हो । यसबाहेक विदेशी तथा स्वदेशी दुबै ग्राहकहरुले आफ्नो रोजाई अनुसारको खाजा यस हाेटलमा पाईन्छ । अन्य खानाका साथै पिम्बाहालको चिप्स कम्पिलीमेन्ट्रीमा दिइने गरेको छ ।
Comments