तरलता संकट उत्पन्न हुनुमा क्रिप्टोकरेन्सीको हात कति ?
बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव बढ्दै गएको छ । तरलता अभाव बढ्दै जाँदा अन्तरबैंक ब्याजदर झण्डै ७ प्रतिशत नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार हाल अन्तरबैंक ब्याजदर फागुन १६ गतेसम्म ६.९६ प्रतिशत छ । फागुन १५ गते भने अन्तरबैंक ब्याजदर ६.९८ प्रतिशत थियो ।
यसअघि अन्तरबैंक ब्याजदर ५ प्रतिशतभन्दा थोरै बढी हुने गरेकोमा अहिले करिब ७ प्रतिशतको हाराहारीमा पुगेको छ । माघ २८ गते अन्तरबैंक ब्याजदर ५.०२ प्रतिशत थियो । त्यसपछि घटेर ५ प्रतिशतभन्दा तल रहेको अन्तरबैंक ब्याजदर बढेर २ सातामा बढेर ७ प्रतिशतको हाराहारीमा पुगेको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा कर्जा निक्षेप अनुपात (सीडी) रेसियो असार मसान्तमा ९० प्रतिशतसम्म पुर्याउन पाउने व्यवस्था गरेको छ । तर अहिले कतिपय बैंकहरुको सीडी रेसियो ९५ प्रतिशतको हाराहारीमा रहेको छ । समग्र प्रणालीमा सीडी रेसियो १६ गतेसम्म ९०.३६ प्रतिशत छ ।
राष्ट्र बैंकलाई अनुरोध गर्ने, राष्ट्र बैंकले पैसा पठाउन समय लाग्ने भएकाले बैंकलाई आवश्यक पर्ने रकम अन्तरबैंकबाट तत्काल पैसा लिएको कारण अन्तरबैंक ब्याजदर ६.९६ प्रतिशत पुगेको देखिएको छ । राष्ट्र बैंकका अनुसार १६ गतेसम्म वाणिज्य बैंकमा ४३ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यसरी तरलता अभावको हुनुकाे एक प्रमुख कारणका रुपमा क्रिप्टोकरेन्सीलाई पनि लिने गरिन्छ ।
क्रिप्टोकरेन्सीले तरलता अभाव कसरी हुन्छ ?
विश्व बैंकको प्रतिवेदनअनुसार सन् २०२० को चौंथो त्रैमासिकमा सबैभन्दा सस्तो दक्षिण एसियामा पनि रेमिट्यान्स पठाउँदा ४.९ प्रतिशत खर्च लागेको थियो। यसको सस्तो विकल्प ब्लकचेन प्रविधि हुनसक्ने देखिएको उनीहरू बताउँछन् ।
ब्लकचेन प्रविधि त्यस्तो विकेन्द्रीकृत वितरित खाता हो जसले डिजिटल सम्पत्तिको उद्गम रेकर्ड गर्दछ। अन्तर्निहित डिजाइनद्वारा, ब्लकचेनमा डाटा परिमार्जन गर्न नसकिने बनाइएको हुन्छ। जसले यसलाई भुक्तानी, साइबर सुरक्षा र स्वास्थ्य सेवाजस्ता उद्योगका लागि सुरक्षित बनाउँछ। जसले गर्दा कारोबार पारदर्शी हुन्छ।
ब्लकचेन प्रविधिभन्दा पनि सस्तो तर अपारदर्शी क्रिप्टोकरेन्सीले अहिले विश्वव्यापी ध्यान तानेको छ। क्रिप्टोकरेन्सीको रूपमा रेमिट्यान्स पठाउँदा बिनाखर्च वा नगन्य खर्चमा पठाउन सकिन्छ। मानिसको ध्यान सस्तोमा जाने हुँदा जोखिम मोल्न बाध्य छन्। यस प्रकारको कारोबारले पनि नेपालको बैंकिङ प्रणालीमा तरलता अभाव भएको विज्ञहरूको भनाइ छ।
समस्या कसरी भयो ?
राष्ट्र बैंकका अनुसार पछिल्लो समय भुक्तानीकै लागि असहज हुने गरि नगद सेचन गर्नुपर्ने अवस्था छैन। स्रोतको व्यवस्थापनमा मात्रै असहजता आएको हो। प्रणालीभित्र अन्तर बैंकिङ ऋण प्रवाह हुँदा समग्र प्रणालीको तरलतामा त्यति फरक पार्दैन। तर कर्जा प्रवाह गरिएको रकम एलसी (प्रतितपत्र) भुक्तानीका लागि विदेशी मुद्रामा पठाइयो र प्रणालीबाट रकम बाहिर जाने अवस्था आयो भने त्यसले तरलतामा चाप पार्ने हुन्छ।
कसैले वस्तु तथा सेवा आयात गर्यो भने हामीले विदेशी मुद्रा पठाउनुपर्ने हुन्छ । त्यो दिनका लागि वा त्यो हप्ताका लागि त्यसले बैंकिङ प्रणालीको क्षमतामै ह्रास लिएर आयो किनभने हाम्रो प्रणालीबाट पैसा बाहिरियो । राष्ट्र बैंकका अनुसार नेपालका लागि पछिल्लो समय तरलताको अधिकांश स्रोत विदेशी मुद्रा हो। विगत केही महिनाहरूमा विप्रेषण आप्रवास राम्रो भइरहेको भए पनि गत महिना भने त्यो केही सङ्कुचित भएर भित्रिएको थियो।
त्यसबाहेक नेपालले एलसी ग्यारेन्टीको भुक्तानी अधिक दिनुपरेको हुँदा विदेशी मुद्राको मौज्दात कम भएको र त्यसको असर तरलतामा परेको विज्ञहरूको भनाइ छ । यी त भए तरलता र यससँग जोडिएका विषय । तरलता अभावकै कारणको रूपमा क्रिप्टोकरेन्सीलाई पनि लिइएको छ। यसले कसरी तरलता अभाव भयो कुरा यतिबेला खोजीको विषय बनेको छ।
Comments