सेबोन र नेप्सेका प्रमुखलाई अर्थमन्त्रीको ११ बुँदे निर्देशन
अर्थ मन्त्रालयले धितोबोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का नवनियुक्त प्रमुखहरूलाई स्वागत कार्यक्रम गरी बधाई दिदै पुँजीबजार सुधारका लागि विभिन्न निर्देशन समेत दिएको छ । अर्थ मन्त्रालयले खुल्ला प्रतिस्पर्धाका माध्यमबाट बोर्ड अध्यक्षमा रमेश हमाल र नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको थियो ।
बुधबार अध्यक्ष हमाल र सिइओ कार्कीको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारका सुधाकार लागि दुवै निकायलाई विभिन्न ११ बुँदे निर्देशन दिएका छन् । खुल्ला प्रतिस्पर्धाबाट छनौट भएर आएका नयाँ नेतृत्वले कसैको दबाब र प्रभावमा परेर काम नगर्न निर्देशन दिए।
उनले उत्पादन र पूर्वाधारका क्षेत्रमा लगानी गर्न चाहिने रकम पुँजीबजारबाट आउने बातावरण सृजना गर्न पनि निर्देशन दिए । पुँजीबजारको समस्या समाधान गर्ने र सर्वसाधारणको लगानीको सुरक्षा गर्ने मुख्य उदेश्यले दुवै निकायमा नयाँ नेतृत्व छनौट गरेको उनले प्रष्ट पारे । सो अवसरमा अर्थमन्त्री शर्माले पूँजीबजारमा लगानी भएको पैसा ठूला परियोजनामा आउने वातावरण सृजना गर्नुपर्नेसमेत बताए ।
मुख्य ११ निर्देशनहरू यस प्रकार छन् :
१) कोभीड १९ को महामारीबीच पुँजीबजारलाई लगानीकर्तामैत्री बनाउने गरी नेपालको पुँजीबजारलाई कसरी अगाडी बढाउने भन्ने बिषयमा छिमेकी मुलुकहरू भारत, चीन, पाकिस्तान, बंगलादेश, अमेरिका, बेलायतमा कसरी पुँजीबजार संचालन भएको छ भन्ने अध्ययन गर्ने ।
२) पुँजीबजारबाट कसरी पुँजी निर्माण गर्न सक्छौं ? कसरी लगानीकर्तालाई उच्चतम प्रतिफल प्रदान गर्न सक्छौं र राष्ट्रिय महत्वका आयोजनाहरूमा आवश्यक लगानी कसरी व्यवस्था गर्न सक्छौं भनेर अध्ययन गर्नुपर्नेछ । ठूला पुर्वाधार, उत्पादन, पुँजी निर्माणका लागि पुँजी संकलन गर्ने व्यवस्था मिलाउने ।
३) २० कात्तिक ०७५ देखि नयाँ टिएमएस भित्रिएको छ । यसले केही सहजता ल्याएपनि अझै प्रयोगकर्तामैत्री छैन भन्ने गुनासो छ । यस्ता गुनासो समाधान गर्नुपर्नेछ ।
४) लगानीकर्ता समान स्तरका नहुने हुँदा साना कम्पनी, स्टार्टअप कम्पनीहरूलाई पनि पुँजीबजारमा प्रवेश गर्ने बाटो खुल्ला हुनुपर्छ । विशेषगरी एसएमई तथा ओटिसी बजारको विकास गरी भेन्चर क्यापिटलसमेतको आधारमा साना कम्पनीहरूको लागी आवश्यक बजारको विकास गर्नुपर्छ ।
५) सुचीकरणमा आउन नसकेका तथा आइपिओको लागि योग्य भइ नसकेको विभिन्न पब्लिक लिमिटेड कम्पनीहरूको सेयरलाई ओटिसी बजार विकास गरी कारोबार गर्ने व्यवस्था मिलाउने । आउँदा दिनमा इन्ट्रा डे कारोबार र सर्ट सेलिङ गर्न मिल्ने गरी प्रणालीको सुधार गर्ने ।
६) अटोमेसन अक्सन शुरु गर्ने । अक्सन बजार लिलामीबाट शुरुमा बिक्री हुन नसकेका सेयर र खरिद बिक्री हुन नसकेका कारोबारको देशभर सबै लगानीकर्ताले खरिद गर्न पाउने व्यवस्था मिलाउने ।
७) ब्रोकरलाई सक्षम बनाउन ‘सब–ब्रोकर’ मोडल तयार गर्ने । डेरिभेटिभ्स औजार बनाई कारोबार गर्ने । कमोटिभी एक्सचेन्ज सम्बन्धी ऐनलाई अगाडी बढाउने । यो ऐन बनेको ४ बर्ष भयो ।
८) अर्थतन्त्रको प्रतिनिधित्व गर्ने बैज्ञानिक तवरले निर्माण गरिएको नयाँ परिसूचक तयार गर्ने । भारतमा बम्बई स्टक एक्सचेन्ज, अमारिकाको डाउजोनस तथा नासडाक जस्ता परिसूचक निर्माण भएका छन् । त्यसबाट शिक्षा लिने । मार्केट क्यापका आधारमा लार्ज क्याप इण्डेक्स, मिड क्याप इण्डेक्स र स्मल क्याप इण्डेक्स बनाई बजार परिसूचकलाई थप व्यवस्थित गर्ने ।
९) उत्पादनमूलक धेरै कम्पनीहरू सेयर मार्केट भन्दा बाहिर रहेकाले सेयर बजारमा ल्याउन बुक बिल्डिङ प्रणाली लागू गर्ने । इण्डेक्स फण्ड तथा ट्रेडेट फण्डको शुरुवात गर्ने ।
१०) ब्रोकरलाई मार्जिन ल्याण्डिङ दिने कुरा लागू गर्ने । ब्रोकर कम्पनी तथा मर्चेन्ट बैंकिङ संस्थाहरू मार्फत मार्जिन ल्याण्डिङ प्रकृया अगाडी बढाउने ।
११) सर्कुलर कारोबार, पम्प एड डम्प र इनसाइडर ट्रेडिंग रोक्ने । पुँजी बजार सम्बन्धी जनचेतना, पुँजी बजार साक्षरताको संचालन, तालिम केन्द्रको स्थापना गर्ने ।
Comments