राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुन्छः रामकुमार राई पासाङ
प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङले राष्ट्रिय सहमतिमा राष्ट्रपति निर्वाचित हुने बताएका छन् ।
‘देशमा एकदमै राजनीतिक तरलता आइरहेकोछ, के हुन्छ ? कसले के गर्छ ? भन्ने एकातिर छ भने अर्कातिर अलिकति बाह्य हस्तक्षेप भइरहेको अवस्थामा छ,’ राईले भने, ‘देश राजनीतिक संकटमा छ । आर्थिक संकटमा छ । यो हल गर्नको लागि राष्ट्रिय सहमतिको राष्ट्रपति हुन जरुरी छ । सबै दलहरु एक ठाउँमा आए भने कम्तीमा देशलाई अगाडि बढाउन सकिन्छ ।’
देशलाई आर्थिक, राजनीतिक, राष्ट्रियता र स्वाधिनताको हिसावले अगाडि बढाउनका लागि राष्ट्रिय सहमतीको दृष्टिकोण आएको उनले उल्लेख गरे । उनले अहिले मुलुकका लागि सबै दलहरु मिलेर जानुपर्ने आवश्यकता आएको औंल्याएका हुन् ।
‘हिजो भएको सहमति कार्यान्वयन गर्ने भन्ने कुराहरु पनि छन् । तर, जे भए पनि सहमतिमै हुन्छ । अहिले आवश्यकता मुलुकलाई सबै दलहरु मिलेरै जानुपर्नेछ,’ उनले भने, ‘भएका परिवर्तन र क्रान्तिलाई अन्त्य गर्नका लागि एक खालका वा विभिन्न खालका मान्छे लागिरहेका छन् । बाह्य शक्ति वा आन्तरिक शक्ति पनि लागिराख्याछ । यसका लागि राष्ट्रिय सहमतीमा राष्ट्रपति बनाइनुपर्छ भनिएको हो ।’
प्रतिनिधिसभा सदस्य राईले खोटाङको विकास निर्माणसम्बन्धी अधुरो कामलाई पूर्णता दिइने बताएका छन् ।
Comments