नेप्सेले ७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । नेप्सेको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
हाल नेप्सेको चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ । जस अनुसार नेप्सेले ७५ करोड रुपैयाँ लाभांश वितरण गर्नेछ ।
उक्त प्रस्तावित लाभांश पारित गर्न नेप्सेले पुस २९ गते, सोमबार, आफ्नो कार्यालयमा ४३ औं वार्षिक साधारण सभा बोलाएको छ । सो साधारण सभा विहान ११ बजे सुरु हुने जनाइएको छ ।
साधारण सभाले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, आय व्यय, अन्य आय विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण नगद प्रवाह विवरण र सो सम्बन्धी भएको अन्य अनुसूचीहरुमाथि छलफल गरी पारित गर्नेछ ।
साथै, साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र नीजको पारीश्रमिक निर्धारण गर्ने जनाएको छ ।
गत वर्ष नेप्सेले चुक्ता पुँजीको ६४ प्रतिशत लाभांश वितरण गरेको नेप्सेले त्यस भन्दा अघिल्लो वर्ष शतप्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
नेप्सेका सेयरधनीमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी बैंक, प्रभु बैंक र अन्य रहेका छन् ।
एजेन्सी
Comments