“सेयर बजारका विकृति तत्काल सुधार गर्नुहोस्,” अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारमा राम्रा भन्दा धेरै विकृति भएकाले तत्काल सुधार गर्न निर्देशन दिएका छन् । बुधबार अर्थ मन्त्रालयमा आयोजित पुँजीबजारको वर्तमान अवस्था सम्बन्धी छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले बजारमा भित्री कारोबार, कर्नरिङलगायत गतिविधि बढेकाले लगानीकर्ताको सम्पत्तिको सुरक्षाका लागि विशेष प्रवन्ध मिलाउनुपर्ने बताए ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीलगायतको उपस्थितिमा अर्थमन्त्री शर्माले बजार सुधारका लागि निर्देशन दिएका हुन् ।
“पूँजी बजारको विकासका लागि काम गर्नुस्, कतैको दबाबमा पर्यो भने संस्थाको काम हुँदैन,” अध्यक्ष हमालको नाम नै तोकेर उनले भने, “पूँजी बजारको शिक्षा सहितको सुरक्षित कारोबार गर्न कस्ता नीति चाहिन्छ भन्नुस् ।”
अर्थमन्त्री शर्माले नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीलाई पनि बजारलाई पारदर्शी बनाएर कारोबार गराउन निर्देशन दिए । रियल डाटा पाउने र दिनको दिनमै खरिद बिक्री गर्न पाउने र सापटी लिएर पनि सेयर खरिद बिक्री गर्न पाउने व्यवस्था गराउन उनले निर्देशन दिए ।
Comments