ब्रोकर लाइसेन्सको पर्खाइमा ११ बैंक
वाणिज्य बैंकका सहायक कम्पनीहरुले पनि सेयर ब्रोकरको काम गर्न अनुमति पाउने भएपछि हालसम्म ११ बैंकहरुले लाइसेन्सको लागि निवदेन दिएका छन् । तर निवेदन दिएको लामो समय हुँदा पनि लाइसेन्स दिने प्रक्रिया भने अघि बढ्न सकेको छैन । वाणिज्य बैंकका सहायक कम्पनीहरुलाई सञ्चालन अनुमति दिने तयारी पछि बैंकहरुले तदारुकता देखाएका थिए ।
नेप्सले ‘वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिपत्रको लागि सिफारिस कार्यविधि, २०७६’ समेत तयार गरिसकेको छ । लाइसेन्सका लागि बैंकहरुले कम्पनी रजिष्टारको कार्यालयमा सहायक कम्पनी दर्ता समेत गराइ सकेका छन् । नेप्सेका अनुसार हालसम्म ११ वटा बैंकहरुले सहायक कम्पनी दर्ता गरेर ब्रोकर लाइसेन्स माग गर्दै निवेदन दिएका छन् ।
कुन कुन बैंकले दिए निवेदन
लाइसेन्सका लागि निवेदन दिनेमा एनआईसी एसिया बैंकले एनआईसी एसिया सेक्युरिटिज कम्पनी दर्ता गरेर ब्रोकर लाइसेन्सका लागि नेप्सेमा निवेदन दिएको छ ।
सानिमा बैंकले सानिमा सेक्युरिटिज कम्पनी दर्ता गराएर लाइसेन्स माग गरेको छ । यस्तै माछापुच्छ्रे बैंकले माछापुच्छ्रे सेक्युरिटिज कम्पनी दर्ता गराएर लाइसेन्स माग गरेको छ । सिटिजन बैंकले सीबीआईएल सेक्युरिटिज कम्पनी दर्ता गराएर लाइसेन्स माग गरेको छ । मेगा बैंकले मेगा स्टक मार्केट कम्पनी दर्ता गराएर लाइसेन्स माग गरेको छ ।
नेपाल बंगलादेश बैंकले एनबीबीएल सेक्युरिटिज कम्पनी दर्ता गराएर लाइसेन्स माग गरेको छ । कुमारी बैंकले केबीएल सेक्युरिटिज कम्पनी दर्ता गराएर लाइसेन्स माग गरेको छ । यस्तै ग्लोबल आईएमईले जेबीएनएल सेक्युरिटिजले कम्पनी दर्ता गराएर लाइसेन्स माग गरेको छ ।
सेञ्चुरी बैंकले सेन्चुरी स्टक कम्पनी दर्ता गराएर लाइसेन्स माग गरेको छ । सिभिल बैंकले सिभिल सेक्युरिटिज कम्पनी दर्ता गराएर लाइसेन्स माग गरेको छ भने प्रभु बैंकले प्रभु सेक्युरिटिज कम्पनी दर्ता गराएर लाइसेन्स माग गरेको छ ।
यसअघिका बोर्डका तत्कालिन अध्यक्ष भीष्मराज ढुंगानाले बैंकका सहायक कम्पनीहरुलाई लाइसेन्स दिन आवश्यक तयारी थाल्न सम्बन्धित शाखालाई निर्देशन समेत दिएका थिए । तर तत्कालिन अध्यक्ष ढुंगाना सर्वोत्तम सिमेण्टको शेयर विवादमा परेपछि गत असोजमा सरकारले उनलाई निलम्बन गरेको थियो । अहिले बोर्डले नयाँ अध्यक्ष समेत पाइसकेको छ ।
यसअघि पनि बैंकलाई लाइसेन्स दिने वा नदिने विषयमा लामो समयदेखि बहस हुँदै आएको थियो । यता विकास बैंकहरुले पनि वाणिज्य बंकलाई जस्तै आफूहरुलाई पनि ब्रोकर लाइसेन्स दिन माग गर्दै आएका छन् । विकास बैंकहरुले पनि वाणिज्य बैंकलाई जस्तै आफूहरुलाई पनि ब्रोकर लाइसेन्स दिन माग गरेका छन् ।
चार वर्ष अघि केही बैंकहरुले ब्रोकर लाइसेन्स माग गर्दै सहायक कम्पनी दर्ता गरेर नेप्सेमा निवेदन दिएका थिए । कम्पनी रजिष्टारमा दर्ता भइसकेपछि त्यसलाई नियमित नवीकरण गर्नु पर्ने हुन्छ । तर लामो समयसम्म नेप्सेले निर्णय नदिँदा ती बैंकका सहायक कम्पनीहरु अलमलमा छन् ।
चार वर्षसम्म पनि लाइसेन्स दिने वा नदिने भन्ने विषयमा केही जानकारी नआएको भन्दै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन नेपाल बैंकर्स संघले चासो देखाएको छ ।
बैंकर्स संघले पनि ब्रोकर लाइसेन्स सम्बन्धी प्रक्रिया कहाँ पुग्यो भनेर चासो व्यक्त गरेको थियो । बैंकर्स संघबाटै पत्र आएपछि नेप्सले पनि आवश्यक निर्देशन जारी गरिपाउँ भन्दै नियामक निकाय धितोपत्र बोर्डमा पत्राचार गरेको थियो । तर नेप्सेले पत्रको जवाफ भने पाएको छैन । प्रवक्ता मुराहरि पराजुलीले पत्र पठाएको बताए । तर नेप्सले पठाएको पत्रको जवाफ भने प्राप्त नभएको उनको भनाइ छ ।
Comments