व्यावसायिक केरा खेतीले फेरियो जिन्दगी
केरा खेती गरेर लाखौँ आम्दानी गर्न सकिन्छ भन्ने शोभित सापकोटाले सपनामा पनि सोँचेका थिएनन् । आफैँले खानका लागि दुई-चार घरी केरा लगाउने गरेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका सापकोटालाई व्यावसायिक रुपमा केरा खेती गरेर अहिले आफैँले मनग्ये आम्दानी गर्न सकेको देख्दा आश्चर्य लाग्दछ ।
दश वर्षदेखि व्यावसायिक रुपमा केरा खेती गरेर उनले गाउँमा नै पक्की घरसमेत बनाएका छन् । करिब १६ रोपनी जमिनमा लगाएको केराबाट वार्षिक रुपमा १० लाख रुपियाँभन्दा बढी आम्दानी हुने गरेको उनी बताउँछन् । उनको देखासिकीपछि परम्परागत खाद्यबालीको विकल्पमा यस गाउँका धेरै किसान खेतबारीमा व्यावसायिक केरा खेती गर्न आकर्षित भएका छन् ।
थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजिक र अन्य बालीको तुलनामा सजिलो भएकाले अन्य किसानहरु पनि व्यावसायिक केरा खेती गर्नेतर्फ उत्साहित भएका हुन् । बिरुवा रोपेको दुई वर्षमा पसाउन थाल्ने र पसाएको पाँच महिनामा बिक्रीका लागि तयार हुन्छ । उत्पादन भएको केरा नजिकै रहेको बेनी बजारमा सहजै बिक्री हुने हुँदा बजारको समस्या नभएको सापकोटा बताउँछन् । बजारमा खबराको केराको ‘ब्रान्ड’ नै बनेको उनको भनाइ छ ।
कृषि पेसामा नै लागेर निर्वाहमुखी ढङ्गले गुजारा चलाउँदै यहाँका बासिन्दाको अहिले आर्थिक अवस्थामा निकै सुधार आएको छ । खबराका १६० घरधुरी किसानले केरा खेतीबाट वार्षिक रुपमा एक करोड रुपियाँ गाउँमा भित्र्याउने गरेका छन् ।
खबरामा केरी खेतीको सुरुआत २० वर्षअघि मानबहादुर थापा र चन्द्रबहादुर कार्कीले गर्नुभएको स्थानीय बासिन्दाले बताएका छन् । थापा र कार्कीले सुरु गरेको केरा खेतीले अहिले गाउँ नै ढाकेको छ । थापा र कार्कीको सिको गरेर खबराका स्थानीयले व्यावसायिक रुपमा केरा खेती थालेका हुन् । अन्य खेतीभन्दा केरा खेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका किसानहरु केरा खेतीतर्फ आकर्षित भएका हुन् । खबराका प्रत्येक घरधुरीले व्यावसायिक रुपमा हजारी जातको केराको खेती गरेका छन् ।
खबराका किसानले केरा खेतीबाट राम्रो आम्दानी गर्न सकेको देखेपछि छिमेकी बगरफाँटका किसानले पनि व्यावसायिक केरा खेती गर्न थालेका छन् । बगरफाँटका १८ घरधुरीका किसानले व्यावसायिक रुपमा गरेको केरा खेतीबाट वार्षिक ५० लाख रुपैयाँको हाराहारीमा केरा बिक्री गर्ने गरेका छन् । व्यापारीहरु केरा घरीमा नै आएर केरा खरिद गर्ने गरेका बगरफाँटका कृषक खिमबहादुर कार्कीले बताए ।
“धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ”, बबिता सापकोटाले भनिन्, “पाँच रोपनी जमिनमा केराखेती गरेका छौँ वार्षिक रुपमा चारदेखि पाँच लाख रुपियाँसम्म आम्दानी हुन्छ ।” छोराछोरी पढाउन र घरखर्च चलाउन कुनै समस्या छैन उनले भनिन्, “केरा बिक्री गरेर आएको पैसाले छोराछोरीलाई काठमाडौँमा पढाउन पुगेको छ ।” उत्पादन भएको केरा घरबाटै बिक्री हुन्छ सापकोटाले भनिन्, “केरा लिन बेनीदेखि व्यवसायीहरु घरमै आउँछन्, राम्रो कोसाको प्रतिदर्जन १२० रुपियाँमा बिक्री हुन्छ ।”
केरा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि अहिले गाउँ नै केरा खेतीले ढाकेको छ । खेतबारी, पाखा, कान्ला र खोल्साहरु सबैतिर केरा खेतीले छपक्कै ढाकेको म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए । त्यसैगरी बेनी नगरपालिका–२ बगरफाँट गाउँका किसानले धान फल्ने खेतमा केरा खेती गरेका छन् ।
Comments