पशुपालनबाट दैनिक ७५ हजार रुपियाँ भन्दा बढी आम्दानी गर्ने बासु भुसालको प्रेरणादायी कथा !
रुपन्देहीको तिलोत्तमामा बासु भुसाल व्यावसायिक पशुपालन गरेर उदाहरणीय बनेका छन् । पेशाले पूर्णकालिन ईलेक्ट्रीकल ईन्जीयर रहेका भुसालले पशुपालन व्यवसायबाट मनग्य आम्दानी पनि गरेका छन् ।
अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर १ ढाकावाङ्ग स्थायी घर भई अहिले बुटवलमा बस्दै आएका युवा व्यवसायी भुसालले गाई र भैसी पालेरै दैनिक ७५ हजार भन्दाबढी रुपियाँको दुध बिक्री गरेको बताए ।
तिलोत्तमा नगरपालिका वडा नम्बर–१० कान्छी बजारमा कामधेनु क्याटल ब्रिडीङ एण्ड रिसर्च सेन्टर प्रालि स्थापना गरेका उनको फार्ममा अहिले साना ठूला गरेर गरेर १ सय ५ गाई र भैसी छन् । तीन वर्षअघि स्थापना गरेको उनको फार्ममा रहेको उन्नत (होलिस्टीन) जातको एउटै गाईले दैनिक ६५ लिटरसम्म दुध दिने गरेको छ ।
फार्ममा आठ जना कामदारलाई प्रत्यक्ष रुपमा रोजगार दिएका उनले दैनिक ११ सय लिटर दुध उत्पादन गरी बिक्रि गर्दै आएका छन् । उनले आफ्नो फार्मको दुध हाल पवन मिष्ठान्न भण्डार भैरहवा, बुटवलको पवित्रा डेरी र अन्य स्थानीय डेरीहरुले खपत गर्दै आएको बताए ।
पाँच विघा क्षेत्रफल जग्गामा उनले दुई विघामा फार्म निर्माण गरेका छन् । तीन विघामा घाँस खेती समेत गरेका छन् । गाईलाई दाना र साईलेज बढि मात्रामा प्रदान गर्दै आएकोमा भैसीलाई भने घाँस खेतीमा आधारित रहेर पालन गरेको उनको भनाइ छ ।
“युवाले स्वदेशमै केही काम गर्नुपर्छ भन्ने सोचका साथ म पशुपालन क्षेत्रमा लागें मिहेनत गरे पैसाको हिसाबै हुन्न । हालसम्म र्फाममा ४० लाख भन्दा बढी लगानी गरिसकेको छु । महिनामा १५ लाखभन्दा बढि आम्दानी हुन्छ । खर्च कटाएर पनि आधा रकम बच्छ,” उनले भने ।
एउटै गाइले ६५ लिटरसम्म दुध दिने गरेको र ६५ रुपियाँ प्रतिलिटर बेच्ने गरेको पनि उनले बताए । उपभोक्ताले भने बजारमा प्रतिलिटर ९० रुपियाँ तिर्ने गरेका छन् ।
भुसालले निकट भविश्यमा गाईको संख्या बढाएर दुई सय पुर्याउने र फार्मलाई रिसर्च सेन्टरका रुपमा विकास गर्ने योजना रहेको बताए । फार्म खोल्ने तयारी गरेकाहरुले पनि कामधेनु मै पुगेर सोधपुछ गर्ने उनले बताए ।
सुपादेउराली डिललिङ्ग एण्ड कन्सट्रक्सन प्रालि र राजश्री डिलिङ्ग एण्ड कन्ट्रक्सन सप्लायर्स प्रालि समेत सञ्चालन गर्दे आउनुभएका उनले करिव १४ बर्ष विभिन्न उद्योगमा ईलेक्ट्रीकल ईन्जीनियरको काम गरेका थिए ।
रुपन्देहीमा रहेको पञ्चकन्या ग्रुप प्रालि सहित अन्य विभिन्न कम्पनीमा काम गरेका भुसाल आफ्नै जमिन मुनीको पानी निकाल्ने प्रविधि ड्रिलिङ्गको काम सुरुवात गरेको पनि बताउँछन् ।
Comments