नेपालका पहिलो मल्ल राजा को हुन ?

नेपालको इतिहासमा लामो समय मल्ल राजाहरुले राज गरेका थिए । तर नेपालको पहिलो मल्ल राजा को हुन भनेर ठ्याक्कै भन्न सकिएको छैन।

नेपालका इतिहासकारहरुले नेपालको इतिहासमा प्राचिन कालको अन्त्य र मध्यकालको सुरुवाल वि.स ९३६ सालदेखि सुरु भएको मानेका छन् । वि.स ९३६ देखि वि.स. १८२५ सम्मको समयलाई मध्यकाल भनेर भन्ने गरिएको छ । मध्यकाललाई पनि पूर्वमध्यकाल र उत्तरमध्यकाल गरी दुई भागमा विभाजन गरिएको छ।

जयस्तिति मल्लको उदय हुँदासम्मको काललाई पूर्वमध्यकाल भनिएको छ भने त्यसपछि गोर्खाका राजा पृथ्वीनारायण शाहाले कान्तिपुर राज्यमाथि विजय प्राप्त गरेको समयसम्मलाई उत्तरमध्यकाल मानिएको छ ।

पूर्वमध्यकालका शासकहरु दक्ष, इमान्दार र शक्तिशाली नभएका कारण देशमा अस्थिरता उत्पन्न भएको थियो । लडाईँ भिडन्त प्राय भइरहन्थे । कहिले भारतको राज्य मिम्रौनगढका शासकहरुले आक्रमण गर्ने भने कहिले त पश्चिम खस राज्यका शासहरुले आक्रमण गर्दथे । विंस १४०६ मा बङ्गालका मुस्लिम शासकहरुले आक्रमण गरी उपत्यकाको जनजीवनलाई नै अस्तव्यस्त तुल्याइदिएका थिए ।

त्यति ठूलो आक्रमण हुँदा पनि शासकहरु मुकदर्शक बनेर बसेका थिए । षड्यन्त्रमा आफै संलग्न हुन्थे । उपत्यकामा आक्रमण गर्न बाह्य शक्तिहरुलाई आमन्त्रणसमेत गर्दथे । त्यसले गर्दा पूर्वमध्यकालीन समय अस्तव्यस्त बन्न पुगेको थियो ।

राजनीतिक, सामाजिक र आर्थिक अवस्था निकै कमजोर भएको बेलामा राजनीतिक, आर्थिक र सामाजिक दृष्टिले सवल र सक्षम व्यत्तित्व जयस्थिति मल्लको उदय भयो । उनको आगमनले नेपाल पुनः शुदृढ राज्य बन्न सफल भयो ।

जयस्थिति मल्ल कसका सन्तान थिए भन्ने रहस्य अहिलेसम्म पनि खुल्न सकेको छैन । धेरै इतिहासकारले उनका बारेमा विभिन्न अड्कलबाजीहरु गरेका छन । ठोस प्रमाणको अभावले गर्दा उनका बाबुआमा यिनै थिए र उनी यही ठाउँबाट आएका थिए भनी किटान गर्न सकिएको छैन।

इतिहासकारहरुमध्ये कसैले उनलाई पश्चिम नेपालमा शासन गरेका खसिया मल्लहरुका सन्तान मानेका छन भने कसैले मिम्रौनगढका कर्णाट बंशका सन्तान मानेका छन् । केही इतिहासकारहरुले भने उनलाई काठमाडौं उपत्यकाका पुराना मल्ल शासकहरकै सन्तान मानेका छन् । नेपालको इतिहासमा जयस्थिति मल्ललाई नेपालको पहिलो मल्ल राजा मानिएको छ । 

Comments

Back to top