सुहाङ नेम्वाङ : अधिवक्तादेखि सांसदसम्म

नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा शुरु भएको छ । इलाम–२ मा भएको प्रतिनिधि सभा सदस्यको उपचुनावमा विजयी भएसँगै सुहाङको संसद् यात्रा शुरु भएको हो ।

एमालेका तत्कालीन उपाध्यक्षसमेत रहेका बुबा सुवासचन्द्र नेम्वाङको निधनपछि भएको उपचुनावमा बुबाको विरासत जोगाउँदै सुहाङकाे संसद् यात्रा प्रारम्भ भएको हो । नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई पाँच हजार आठ सय ३० मतान्तरले पराजित गरेर सुहाङ इलाम–२ लाई प्रतिनिधित्व गर्दै सांसद बनेका हुन् । सुहाङले २७ हजार सात सय ७२ मत ल्याउँदा डम्बरबहादुरले २१ हजार नौ सय ४२ मत प्राप्त गरेका थिए ।

सुहाङको जन्म २०४६ साल फागुन ६ गते बुबा सुवासचन्द्र नेम्वाङ र आमा विशाल नेम्वाङका कान्छा छोराका रूपमा काठमाण्डाैमा भएको थियो । काठमाण्डाैकाे ग्यालेक्सी पब्लिक स्कुलमा नर्सरी कक्षाबाट आफ्नो अध्ययन शुरु गरेका सुहाङले जगत माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरे । उनी ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेर उच्च शिक्षाका लागि अस्ट्रेलिया गए । त्यहाँ दुई वर्ष बसेर उनी नेपाल फर्के।

स्वदेश फर्केर उनले काठमाण्डाै स्कुल अफ लबाट कानुन सङ्कायमा बीएलएलबी, वाणिज्य कानुनमा एलएलएम अध्ययन पूरा गरे । सुवास आफू कानुन पढेको र अधिवक्ता भएकाले छोरा सुहाङलाई पनि कानुन नै पढाएका थिए । सुहाङ पछिल्लो समय काठमाण्डाैकाे थापागाउँमा ‘कान्तिपुर ल एसोसिएट्स एन्ड रिसर्च सेन्टर’ स्थापना गरी  वकालत गर्दै आएका थिए ।

सुहाङ राजनीतिभन्दा खेलकुदमा बढी लगाव राख्थे । स्कुले जीवनमा धरैजसो समय होस्टेलमै जीवन बिताएका सुहाङ अस्ट्रेलियाबाट फर्किएपछि कलेजमा हुने खेलकुद प्रतियोगितामा सहभागी हुन थाले ।

उनले खेलकुद क्षेत्रको विकासका लागि दुई वर्षअघि ‘इलाम स्पोर्टिङ डी मेची क्लब’ समेत स्थापना गरे । पछिल्लो समय उहाँ त्यही क्लबमार्फत इलामका विभिन्न ग्रामीण क्षेत्रमा पुग्ने गरेका थिए । फुटबल र क्रिकेटमा रुचि भएका तथा पेसाले अधिवक्ता सुहाङ सरल, सालिन र नरम स्वभावका छन् ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि बुबा सँधै केन्द्रीय राजनीतिमा छाइरहेकाले पनि सुहाङले राजनीतिलाई नजिकबाट बुझ्ने अवसर पाएका थिए । यद्यपि उनी राजनीतिक गतिविधिबाट भने टाढै थिए । सुहाङले यसअघिसम्म कुनै पनि चुनावमा मतदानसमेत गरेका थिएनन् । आफ्नै बुबा उम्मेदवार हुँदासमेत मतदाता नामावलीमा नाम दर्ता नभएकाले उनले मतदान गर्न पाएका थिएनन् ।

राजनीतिलाई नजिकबाट बुझ्ने अवसर पाए पनि खासै रुचि नभएका सुहाङलाई परिस्थितिले सांसद बनायो । तर बुबा सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनपछि उनलाई पार्टीले टिकट दिलाएर सांसद बनाएको हो । सुहाङलाई सांसद बनाउनमा नयाँ सत्ता समीकरणले सहज बनायो । नेकपा (माओवादी केन्द्र), नेकपा र नेपाल परिवार दलको समर्थन पाएका नेम्वाङले कम उमेरमा नै संसद् छिर्ने अवसर पाएका छन् ।

सालिन एवम् बौद्धिक नेताको छवि बनाएका स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोराका रूपमा सुहाङले बुबाको विरासत जोगाउनुपर्ने जिम्मेवारी र नयाँ पुस्ताको भरोसा बटुल्नु चुनौती छ ।

आफू विजयी हुँदै गर्दा आफूसँगै चुनावी मैदानमा रहेका सबै उम्मेदवारले उठाएका सबै मुद्दा इलामको नागरिकको साझा भएको उनको भनाइ छ । राजनीति धेरै टाढासम्म रहेको भन्दै सबैको भावना कदर गर्दै देशलाई सुशासन र समृद्ध बनाउने सपना रहेको उनको भनाइ छ । उनी आफ्ना बुबाको अधुरा र अपूरा सपना पूरा गर्न राजनीतिमा आएको बताउँछन् । समाजमा रहेको राजनीतिप्रति युवाको मानसिकता र वैदेशिक रोजगारमा युवाको आकर्षण घटाउन विभिन्न योजनाहरु ल्याउने उनको भनाइ छ ।

अहिले सुहाङ एमालेको कानुन विभागको केन्द्रीय सदस्य छन् । 

एजेन्सी

Comments

Back to top