डेभिड कुमाल: १९ वर्षमै हस्तकला उद्योगको नेतृत्व सम्हाल्ने एक उदाहरणीय व्यक्ति!

एउटा सिमान्तकृत कुमाल समुदायमा जन्मिएर निर्यात व्यवसायमा सफल युवा उद्यमीको परिचय बनाउने २४ वर्षीय डेभिड कुमाल एक उदाहरणीय व्यक्ति हुन् । उनले १९ वर्षे लक्का उमेर (टिनएज) मा निर्यात हुने सामान उत्पादन गर्ने उद्योग सम्हाल्न सके ।

डेभिडले बुबाको व्यवसायलाई सानैबाट बुझ्ने मौका पाए । सिक्दै पनि गए । हस्तकलामा अनुभव खारिँदै गयो । अनि १९ वर्षको उमेरमा उद्योगको नेतृत्व सम्हाल्ने भए । अहिले उनका बुबा विशाल सामाजिक तथा आफ्नो समुदायको हक हितका काममा सक्रिय छन् । छोरा र श्रीमती शान्तिले नै उद्योग सम्हाल्न थालेकाले आफूले केही हेर्नै नपर्ने विशालले सुनाए । अझ डेभिड अन्तर्राष्ट्रिय व्यापारीसँग सहज रुपमा डिल गर्नसक्ने भएकाले विशाल औधी खुसी छन्।

विशाल र शान्तिका दुई सन्तानमध्येका जेठा डेभिड हाल व्रिटिस कलेजबाट इएमविए (एग्जिक्युटिभ मास्टर्स इन विजनेश एडमिनिष्ट्रेन) गरिरेहका छन् । लस्ट होइराइजन इन्टरनेशनल ह्याण्डी क्राफ्ट उद्योग प्रालिलाई १९ वर्षमै नेतृत्व दिएका डेभिड अहिले मार्केटिङ डाइरेक्टरका रुपमा छन् । डेभिडलाई आमा शान्तिले सघाउँछिन् । 

हाल उनका तीन वटा फयाक्ट्री छ । चितवनको मेघौलीका साथै काठमाडौँको चन्द्रागिरि नगरपालिकाको थानकोट र गुर्जुधारामा उद्योग छ । एक हजार जनालाई रोजगारी दिनसक्ने क्षमता उद्योगको हो । गत वर्ष ६०० जनाले रोजगारी पाएका थिए । 

माग अनुसार उत्पादन हुने भएकाले कुनै समयमा अत्याधिक माग हुन्छ भने कुनै समय खाली नै हुने व्यवसाय हो हस्तकला । उक्त उद्योगले अहिले औषत वार्षिक २४/२५ करोड माथिको कारोबार (निर्यात) गर्दै आएको छ । उद्योगमा उत्पादन भएकामध्ये ९५ प्रतिशत सामान बाहिर जान्छ ।

सानै उमेरमा निर्यात व्यवसाय सम्हालेका डेभिडका सपना धेरै ठुलो छैन । बास ! आफूलााई नम्बर १ निर्यातककर्ताको रुपमा उभ्याउन चाहन्छन् । डेभिड भन्छन्, “एक नम्बरको निर्यातकर्ता बन्ने मेरो लक्ष्य हो, अहिले टप १० भित्र त पर्छुहोला ।” त्यसका लागि उनी उद्योगमा कठिन मेहनत गरिरहेका छन् । अन्तर्राष्ट्रिय व्यापार सम्बन्ध र सामान उत्पादन तथा उद्योग सम्हाल्नका लागि उनले आफ्नै व्यक्तिगत प्रयास गरेका हुन् ।

फेल्ट प्रोडक्ट उत्पादन गरेर निर्यात गर्ने उनको व्यवसायका लागि वाह्य देशबाट भेडाको ऊन आउँछ । त्यो प्रकारको ऊन नेपालमा पाईंदैन । उनका उद्योगका उत्पादन सबै हातले बन्छ । विभिन्न गिफ्ट, होम डेकोरेशन, क्रिसमसका लागि सजाउने सामान र जनावरहरुका लागि चाहिने सामान उत्पादन हुन्छ । धेरै समानमध्ये घर सजाउने सामानहरु प्रशस्तै बन्छ उनको उद्योगमा । 

अघिल्ले हप्ता नेपाल कुमाल समाज सुधार समिति काठमाडौँले उनलाई सानै उमेरमा हस्तकलाको सामान उत्पादन गरी युवा उद्यमी बन्न सफल भएको भन्दै सम्मान गरिएको थियो । 

 स्रोत: बिजपाटी

Comments

Back to top