मुखको क्यान्सरका यस्ता छन् लक्षण, कारण र रोकथामका उपाय

मुखको क्यान्सरबाट बच्न सरकारले आग्रह गरेको छ । सुरुमै यसको पहिचान गरेर उपचार गरे ठूलो समस्याबाट बच्न सकिनेभन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत हुन आग्रह गरेको छ । मुखको क्यान्सरका लक्षण तथा चिन्हहरू यही नै हो भनेर यकिन गर्न नसकिए पनि साधारण लक्षणहरु भने हुने मन्त्रालयले स्पष्ट पारेको छ ।

मुखको क्यान्सरका लक्षण
फरक स्वाद, मुखमा दाग, धब्बा वा पत्र देखिनु, घाटीमा गिर्खाहरु देखा पर्नु, नदुख्ने वा दुख्ने घाउ आउनु, खटिरा देखिनु, अस्वभाविक रक्तस्राव हुनु, मसलादार खाना खाँदा पोल्नु, खान, निल्न, पिउन अप्ठ्यारो हुनु, घाउ तथा खटिराको आकार बढ्दै जानु, र्‍याल बढी आउनु मुखको क्यान्सरको लक्षण भएको मन्त्रालयले जनाएको छ ।

मुखको क्यान्सरको कारण
मध्यपान, धुमपान, सुर्तीजन्य पदार्थको सेवन मुखको क्यान्सरको कारण भएको मन्त्रालयले स्पष्ट पारेको छ । मुखको समस्या, सूर्यको किरण, संक्रमण पनि मुखको क्यान्सरको कारण हुनसक्ने मन्त्रालयले जनाएको छ । सुर्तीजन्य पदार्थले क्यान्सर बनाउने हजारौं रसायन बनाउने र ४५ तत्व सिर्जना गर्ने भएकाले मुखको क्यान्सर हुने सम्भावना हुन्छ । रक्सी पिउँदा क्यान्सर हुने सम्भावना १५ गुणा बढी हुने जनाएको मन्त्रालयले पोषणको कमी आइरन, भिटामिन ए, ई र सी को कमी पनि मुखको क्यान्सरको कारण रहेको जनाएको छ ।

दाँतको समस्या, फोहोर मुख, विभिन्न भाइरलको संक्रमण, ब्याक्टेरिया र फङ्गल संक्रमणले पनि मुखको क्यान्सर गराउन सक्छ । सूर्यको प्रकाशबाट आउने अल्ट्राभाइलेट विकिरण र एक्सरेले पनि मुखको क्यान्सर हुने उच्च सम्भावना हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मुखको क्यान्सरका रोकथामका उपाय
समयमै उच्च सावधानी अपनाए मुखको क्यान्सरको रोकथाम पनि गर्न सकिन्छ । मुखमा भएका परिवर्तन, घाउ खटिरा, दाग सजिलैसँग निदान गर्न सकिने मन्त्रायले जनाएको छ ।

सूर्तिजन्य पदार्थ र मद्यपान सेवन नगरे, संक्रमण भए उपचार गरेमा दीर्घकालीन चोटपटक, घर्षणबाट मुक्त रहन सकेमा, राम्रोसँग मुखको सफाई तथा बेलाबेलामा कुल्ला गर्ने गरेमा, दाँतको समस्याको बेलैमा उपचार गरेमा मुखको क्यान्सरबाट बच्न सकिने मन्त्रालयले जनाएको छ । सन्तुलित खाना, हरियो सागपात, फलफूल खाने, अखाद्य तथा रासायनिक पदार्थको संसर्गमा नआएमा मुखको क्यान्सरको उचच जोखिमबाट बच्न सकिने मन्त्रालयले स्पष्ट पारेको छ।

Comments

Back to top