‘दृष्टिका संवाहक’ डा.सन्दुक रुइत : संघर्ष, सफलता र सम्मान

ताप्लेजुङको तिब्बती सीमावर्ती गाउँ ओलाङचुङगोलामा जन्मिनुभएका डा. रूइतलाई विश्वभर ‘दृश्यका देवता’ (गड अफ साइट) भनेर चिनिन्छ  । डा. रुइतको  जीवन अन्वेषण, संघर्ष, साहस र समर्पणले भरिएको रहेछ भन्ने उनको जीवनीमा आधारित पुस्तक ‘सन्दुक रुइत’ पढेर प्रष्ट हुन्छ ।  जीवनका हरेक प्रहर र उतारचढावहरूमा उनले नविन ऊर्जाका साथ तय गरेको नागबेली यात्रा बहुआयामिक विशिष्टतायुक्त, प्रेरणादायी एवम् अनुकरणीय छ । जसले मानिसको जीवनमा ज्योति भर्न, ऊर्जा थप्न मद्दत गर्छ ।  डा. रुइतको सुकर्मबाट लाखौं मानिसहरूले नयाँ जीवन त पाएका छन् नै उनका संघर्ष र मेहनतबाट धेरैले अलौकिक प्रेरणा पनि पाएका छन् ।

सरल र कम लागतको मोतिबिन्दुको विश्वविख्यात चिकित्सा पद्धति रुईतेक्टोमीका सुरुवातकर्ता डा. रुइतले आफ्नै हातले एक लाख ३० हजारभन्दा बढीको मोतियाबिन्दु शल्यक्रिया गरेका छन् । सेवामा गुणस्तरीयता विश्वसनीयता अन्तर्राष्ट्रिय स्तरको सुरक्षित तथा सहुलियतपूर्ण नि:शुल्क सेवा प्रदान हुनु विश्वका लागि अनुकरणीय बनेको छ । नेपालका लागि मात्र नभइ विश्वकै विपन्नहरूलाई नि:शुल्क वा निकै कम मूल्यमा मोतियबिन्दुको शल्यक्रिया गर्ने उनको अभियान नेपालका लागि क्रान्तिकारी विकासयुक्त र प्रशंसनीय छ । डा. रुइतको जीवनबाट धेरै शिक्षा लिन त सकिन्छ नै साथै उनले लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गर्ने गरेको अनवरत यात्राबाट जो केहीलाई पनि प्रेरणा मिल्छ ।

सन्दुकका संघर्ष

डाक्टर बन्ने सपनामा जन्मस्थान ताप्लेजुङको ओलाङचुगोलाबाट १५ दिन हिँडेर दार्जिलिङ पढ्न पुगेका थिए डा. रुइत ।  त्यहाँको मिसनरी स्कुल सेन्ट रोबर्ट्समा भर्ना भएपनि सन् १९६२ मा चीन भारतबीच सीमा युद्धका कारण दार्जलिङका स्कुल बन्द भएपछि पुनःकाठमाडौँ आइ सिद्धार्थ वनस्थली स्कुलमा भर्ना भए । सन् १९७० मा सिद्धार्थ वनस्थली स्कुलबाट पहिलो श्रेणीमा एसएलसी पास भएका डा. रुइत त्रिचन्द्र क्याम्पसमा आइएससी पढेपछि छात्रवृत्ति कोटामा एमबिबिएस पढ्न भारतको लखनऊस्थित किङ जर्ज मेडिकल कलेज पुगे ।

एमबिबिएस पास गरेपछि नेपाल आए र वीर अस्पतालमा जनरल फिजिसियनका रूपमा तीन वर्ष बिताउनुभएका डा. रुइत फेरि भारत गएर अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा एमडी पढ्न थाले ।  तीन वर्ष एम्समा पढेपछि १९८४ मा नेपाल फर्किएका रुइतको त्रिपुरेश्वर आँखा अस्पतालबाट जागीरे जीवन सुरु भयो । त्रिपुरेश्वर आँखा अस्पतालमा आठ वर्ष काम गरेपछि १९८७ मा एकवर्षे अध्ययन गर्न अस्ट्रेलिया गए । पढाइ पूरा गरेर स्वदेश फर्केपछि उनले  १९९४ जुनमा तिलगंगा आँखा केन्द्र स्थापना गरी नेत्ररोगको उपचारमा सकृय रहे । डा. रूइत अहिले पनि दैनिक १२ घण्टाभन्दा बढी आफ्नो काममा दत्तचित्त भएर लागिरहन्छन् । तीन दशकयता नेपालमा १ लाख २० हजार शल्यक्रिया र संसारभरिका दुर्गम भेगमा यस्ता सयौं शिविर चलाइसकेका डा. सन्दुकलाई जहाँ जहाँ आवश्यकता हुन्छ, त्यहाँ त्यहाँ शिविर लिएर हिँड्न निकै रमाइलो लाग्छ ।

सम्मानको लहर

अहोरात्र सेवामा खटिरहने विश्व परिचित डा. रुइतले प्राप्त गरेका पुरस्कार र सम्मानका चाङ थपिदैँछन् । यसअघि उनले नेपाल सरकारबाट २०७५ मा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ पाएका थिए । साथै २०१९ मा भारतको प्रतिष्ठित पद्मश्री पुरस्कार र १५ वर्ष पहिले नै अर्थात सन् २००६ मा फिलिपिन्सको रोमोन म्यागसेसे पुरस्कार पाएका छन् । उनले पाएका सम्मानका खातामा थाइल्यान्डको प्रिन्स महिडोल र रिडर्स डाइजेस्टको एसियाली युवा पुरस्कार, अल्बर्ट आइन्स्टाइन फाउन्डेसन ग्लोबल भिजनरी अवार्ड, वर्ल्ड इकोनोमिक फोरमको सोसल इन्टरप्रेनरसिप अवार्ड, भुटानको नेशनल अवार्ड पनि दर्ता भएका छन्  ।

यी कयौ पुरस्कारभन्दा पनि बढी आफ्नो दृष्टि फिर्ता पाउने व्यक्तिका खुशी शब्दमा व्यक्त नभएका कृतज्ञताका असिम माया प्रिय लाग्छ डा. रुइतलाई । ‘विकासोन्मुख मुलुकका नागरिकमा रहेको अन्धोपनाको उपचारमा गरेको निरन्तरको प्रयत्नका निम्ति’ बहराइन सरकारले यो विशिष्ट सम्मान प्रदान गरेको हो । ‘यो घडी म तिलगंगा प्रतिष्ठानका हरेक सदस्यलाई उनीहरूको स्तुत्य सेवालाई धन्यवाद दिन चाहन्छु,’ तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रुइतले भने ।

आफूले पाएको अवार्ड र सम्मान डा. रुइतले आफ्नो कर्ममा जुटेका अन्तर्राष्ट्रिय तहका सहयोगी र साझेदार द फ्रेड होलोज फाउन्डेसन, हिमालयन क्याटाराक्ट प्रोजेक्ट र तेज कोहली एण्ड रुइत फाउन्डेसनलाई सम्झदै आँखा उपचारमा आएका आफ्ना सम्पूर्ण बिरामीहरूमा अर्पण गरे । आफ्नो यो अवार्डले आफूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिबद्धता र मेहेनतका साथ काम गर्ने अवसरका रूपमा थप प्रेरणा दिएकोमा डा.रुइत कृतज्ञ छन् ।

‘मानवताका लागि सेवा’ गरेबापत नेत्र चिकित्सक डा.सन्दुक रुइतलाई बहराइन सरकारका तर्फबाट राजा हमाद बिन इसा अल खालिफाले प्रतिष्ठित इशा अवार्ड प्रदान गरेका हुन् । १ मिलियन डलर राशि (झन्डै १४ करोड रूपैयाँ)को पुरस्कार तथा सम्मान डा.रुइतलाई प्रदान गर्दै राजा खालिफाले लोकहितकारी कामका अर्थमा डा रूइतले सबैभन्दा योग्य, अमूल्य र प्रभावकारी काम गर्दै आएको बताएका थिए । पुरस्कार प्रदान गर्दा बहराइनी राजाले डा. रुइतलाई ‘साइट्स मेसेन्जर’ भनेर सम्बाेधन गरेका थिए । उनको बारेमा बहराइन सरकारले साइट्स मेसेन्जर शिर्षकको वृतचित्र समेत निर्माण गरेको छ । यसैगरी इशा अवार्ड कमिटीका अध्यक्ष सेख मोहम्मद बिन मुबारक अल खलिफाले पनि डा रुइत मानवहितकारी अर्थमा संसारकै लागि उदाहरण रहेको बताएका थिए ।

एजेन्सी

Comments

Back to top