व्यवसायले फेरियो सन्तोष चौधरीको जीवनशैली

गफिएर दिन बिताउँदै आएका सन्तोष चौधरीले थोरै लगानीमा व्यवसाय सुरु गरेदेखि उनको दैनिकी फेरिएको छ । बिना काम दिनभरि बरालिएर हिँड्ने गरेका चौधरीले सुरु गरेको व्यवसायमा उनको परिवारका अन्य सदस्यहरु रोजगार पाउनुको साथै आश्रित भएका छन् ।

सप्तरीको खडक नगरपालिका ११ स्थित साढे दुई कट्ठा जग्गामा व्यवसायिक माछापालन, कुखुरा पालन, हाँस पालन गरेका चौधरीको मासिक २५ देखि ३० हजार रुपियाँ कमाइ भइरहेको उनको भनाई छ । उनले धान, गँहु मात्र उत्पादन भइरहने खेतमा सानो पोखरी र पोखरीको डिलमा कुखुरा फर्म, हाँस फर्म सञ्चालन गरेका छन् ।

उन्नत जातको साठीवटा हाँसबाट दैनिक ४१ वटा अण्डा दिनेगरेको बताउँदै सन्तोषले भने, “उन्नत जातको हाँसले लगातार ६ महिनासम्म अण्डा दिन्छ । औषतमा हाँसको अण्डा र तयारी कुखुरा बिक्रीबाट दैनिक दुई हजारदेखि तीन हजार रुपियाँसम्म कमाइ भइरहेको छ ।” पछिल्लो दुई महिनामा ७० देखि ८० हजार रुपियाँ कमाइ भएको उनले आफ्नो व्यवसायमा श्रीमती र बुवाले साथ सहयोग गरिरहेको बताए ।

कृषि फर्म सुरु गर्नुअघि दिनभरि जुवातास खेलेर बिताउने गरेको अनुभव सुनाउँदै यसले घरपरिवारमा समस्या हुनेगरेको उनले बताए । आफन्तको सुझाव सल्लाह र सहयोगमा सुरु गरिएको व्यवसाय अरुको सिकाइ स्रोत पनि बनेको उनको भनाई छ । कुखुरा फर्ममा दैनिक २० देखि २५ जना आएर व्यवसायबारे जानकारी लिनेगरेको उनले बताए । व्यक्तिगत दुई लाख ३० हजार लगानीमा सुरु गरेको फर्मबाट भइरहेको कमाइले परिवार सन्तुष्ट रहेको उनले बताए ।

स्रोत: गोरखापत्र

Comments

Back to top