बाख्रापालन व्यवसायबाट प्रशस्त आम्दानी गरेकी महिला उद्यमीको कथा !
तनहुँकी एक महिलाले गाउँमै बाख्रा पालन व्यवसायबाट नाम र दाम दुवै कमाउन सफल भएकी छिन् । व्यास नगरपालिका–४, चुरेखोल्सीमा बाख्रा फार्म सञ्चालन गरेर गायत्री पुडासैनी अधिकारीले नाम र दाम दुवै कमाएकी हुन् ।
बाख्रापालनबाट निकै राम्रो आम्दानी हुन थालेपछि उनले लगानी थप्दै गएकी छिन् । अधिकारी हाल मासिक ५० हजार रुपियाँ आम्दानी हुने गरेको बताउँछिन् । ५० लाख रुपियाँ लगानी गरिसक्नुभएकी अधिकारीले चालू आर्थिक वर्षभित्रै थप ४१ लाख गरी ९१ लाख लगानी गरेर मासिक दुई लाख नाफा कमाउने योजना बनाएकी छिन् । अधिकारीले खोलेको गङ्गादेवी बाख्रा फार्ममा बोयर जातका ९० वटा बाख्रा रहेका छन् । तीमध्ये माउ ४३, पाठी २३ र बाँकी पाठा छन् । अधिकारीले बाख्रा पालनका लागि २४ रोपनी आफ्नै, १२ रोपनी भाडाको गरी ३६ रोपनी जमिनमा घाँसखेती गरेकी छिन् ।
उनले बारीमा नेपिएर, सुपर नेपिएर, स्मार्ट नेपिएर, स्टाइलो, बडहर, रायोखनायो, किम्बुलगायतका जातका घाँस लगाएकी छिन् ।
अधिकारीलाई फार्ममा श्रीमान् नारायण अधिकारी, ससुरा देवीप्रसाद अधिकारी र सासु गङ्गादेवी अधिकारीले सहयोग गर्ने गरेका छन् । परिवारका सदस्यबाहेक अन्य चार जनालाई रोजगारी दिएको अधिकारीले जानकारी दिईन्।
मासुको माग धेरै हुँदा भारतबाट खसीबोका आयात गर्नुपर्ने बाध्यता भएको थाहा पाएपछि गाउँमै बाख्रापालन गर्ने सोच आएको अधिकारीले बताईन् । उनले सुरुमा डेढ लाख रुपियाँ लगानी गरेर आठवटा खरी जातको बाख्राबाट व्यवसाय सुरु गरेकी थिईन् । महँगो मूल्यमा बिक्री हुने भएपछि उनले खरीजातको बाख्रालाई हटाएर बोयर जातको बाख्रा थप्न थालेको बताईन् । उनले तीन लाख रुपियाँ खर्च गरेर अस्ट्रेलियाबाट बोयर बोका किनेर ल्याएको बताईन्।
उनको फार्म अहिले उन्नत जातको पाठापाठी उत्पादन केन्द्र बनेको व्यास नगरपालिका–४ का वडाध्यक्ष विश्वराज न्यौपानेले जानकारी दिए । बाख्रा पालनमा नमुना कृषक भएकोले गत वर्ष उहाँले नमुना मोडल फार्मअन्तर्गत दुई लाख रुपियाँ अनुदान प्राप्त गर्न सफल भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका प्राविधिक रुद्रसेन ठकुरीले जानकारी दिए ।
नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजना पोखराबाट २० लाख ५० हजार अनुदान प्राप्त गर्नका लागि आफ्नो फार्म सूचीकृत हुँदा उत्साह जागेको अधिकारी बताउँछिन् । अनुदान प्राप्त गरेको रकम बराबर आफूले पनि लगानी गर्नुपर्ने प्रावधान रहेकाले चालू आर्थिक वर्षमा नै पूरा हुने गरी काम भइरहेको उनको भनाइ छ । विदेशबाट आयात गर्नुपर्ने मकै, दानाको मूल्य वृद्धि हुँदा समस्या थपिएको उनले बताईन् ।
Comments