सरल भाषामा वस्तुले हामीले दैनिक चलाउने तथा प्रयोग गर्ने चीजहरूलाई बुझाउँछ। चामल, गहुँ, ग्यास, सुन र चाँदी वस्तुका आधारभूत उदाहरण हुन्। कमोडिटी अर्थात् वस्तु विनिमय भन्नाले त्यस्ता ब्रान्डिङ नगरिएका वस्तुहरु हुन्, जसलाई उत्पादन, किनबेच र उपभोग गर्न सकिन्छ। क्रेता र बिक्रेता भेला भएर वस्तुको किनबेच गर्ने ठाँउ नै कमोडिटी बजार हो। कमोडिटी बजारमा लगानीकर्ताहरूले विभिन्न वस्तुहरू व्यापार गर्न सक्छन्। यो सेयर बजारजस्तै हो। सेयर बजारमा हामीले कुनै कम्पनीमा लगानी गर्छौं भने कमोडिटी बजारमा कुनै कच्चा पदार्थ, उत्पादित वस्तुमा लगानी गर्छौं।
नेपालमा धेरैलाई सेयर बजारको ज्ञान छ। कारोबार र सहभागीता पनि उत्तिकै छ तर धेरैलाई कमोडिटी बजारको निकै कम ज्ञान छ। सन् २००६ देखि नेपालको कमोडिटी मार्केटमा कारोबार सुरु भएको थियो। विदेशमा कमोडिटी बजार निकै पहिलेदेखि नै सञ्चालन हुँदै आएपनि नेपालको लागि नयाँ हो। कतिपयले त कमोडिटी बजारको नाम पनि सुनेका छैनन् होला।
नेपालको कमोडिटी बजारको लागि नियमक निकाय सेबोन हो। सेबोनले कमोडिटी बजारमा ६ वटा वस्तुहरुको कारोबार गर्ने अनुमति दिएको छ जसमा कृषि वस्तु सामग्रीहरुमा वस्तुहरु जस्तै कपास, अलैँची, खुर्सानी, काजु, उखु आदि पर्दछन्। धातुहरुमा तामा, फलाम, पीतल, बहुमूल्य धातुहरुमा सुन, चाँदी, प्लेटिन्म, खाद्य तेलहरुमा नरिवल, ताडको तेल, तोरीको तेल, खनिज तेलहरुमा कच्चा तेल, पेट्रोलियम पदार्थ, अन्य कमोडिटीमा कफी, अण्डा, चिनी आदि रहेका छन्।
कमोडिटी बजारले नेपालको आर्थिक अवस्थालाई वृद्धि गर्न ठूलो भूमिका खेल्न सक्छ। नेपाल एउटा कृषिप्रधान देश हो। यद्यपी किसानले सही मूल्य पाईरहेका छैनन्। अर्कोतर्फ उपभोक्ता महँगो मूल्य तिर्न बाध्य छन्। कमोडिटी बजारको अपेक्षित विकास भए किसानदेखि उपभोक्तासम्मलाई फाईदा हुने ठूलो सम्भावना छ। वर्तमान अवस्थामा हेर्दा नेपालको कमोडिटी बजार अझैपनि सुरुवाती चरणमा छ र यस बजारको लागि अवसरका साथै जोखिम तथा सम्भावनाहरु पनि छन्।
नेपालमा कमोडिटी बजारमा कारोबार ब्रोकरमार्फत् गर्न सकिन्छ। २००६ लगतै मर्कण्टाइल एक्सचेन्ज नेपाल(मेक्स), डेरिभेटिभ एण्ड कमोडिटी एक्सचेन्ज(डीसीएक्स), एसियन डेरिभेटिभ एक्सचेन्ज(एडिएक्स), आरसीडीएक्स गरी नौवटा कमोडिटी एक्सचेन्ज कम्पनीहरु सञ्चालनमा छन्। यसैगरी ४०-५० वटा ब्रोकर कम्पनी सक्रिय रुपमा सञ्चालनमा छन्।
यदि सर्वसाधारणले कमोडिटी बजारमा प्रवेश गर्न चाहेमा उनीहरुले सक्रिय ब्रोकर कम्पनीमा नेपाल सरकारले जारी गरेको आफ्नो परिचयपत्र (नागरिकता, पासपोर्ट अन्य), बैङ्क वा ईसेवामा खाता रहेको प्रमाण र फोटो सहित अनलाईन वा कागजी रुपमा एक्चेन्जले उपलब्ध गराइ ग्राहक दर्ता फारम भर्न सक्छन्। फारम दर्ता भएपछि ग्राहक कोड प्राप्त गरे पश्चात कारोबार सुरु गर्न सक्छ। सबै कोरबार बैँकमार्फत् हुन्छन्।
कमोडिटी बजारको विकासको सम्भावना भए तापनि नियमन निकायको नियमन, अनुगमन निकै कमजोर, कमोडिटी बजारबारे ज्ञान, अनुभव निकै कम, नियम, निर्देशनको अभाव जस्ता चुनौतीहरु देखा परेका छन्। बजेटमा कमोडिटी बजारको उल्लेख गरेपनि यस बजारले विस्तार पाउन सकेको छैन। यदि सहि निर्देशन, नियमलाई कार्यानवयनमा ल्याउन सके कमोडिटी बजारको भविष्य उज्जवल हुने प्रशस्त सम्भावना छ।
Comments