वैशाखमा व्याजदर बढ्ने संकेत देखियो
चैतमा नबढेको व्याजदर वैशाखामा बढ्ने संकेत देखिएको हो । यसअघि नेपाल बैंकर्स संघको कार्यसमितिको बैठकले फागुनका लागि तोकेको ब्याज दरलाई नै चैतमा निरन्तरता दिने निर्णय गरेको थियो । चौतर्फी रुपमा ब्याज वृद्धिको विरोधपछि संघले पुरानै ब्याजलाई निरन्तरता दिने निर्णय गरेको हो । यसअघि फागुनमा साधारण मुद्दतीको अधिकतम ब्याज ११.०३ प्रतिशत र संस्थागत मुद्दती निक्षेपकर्ताले १०.०३ प्रतिशत ब्याज तोकिएको थियो ।
हाल रेमिटेन्स पठाउनेले भने १२.०३ प्रतिशत ब्याज पाइरहेका छन् । चैतका लागि पनि सोही ब्याजदर कायम रहेको छ । फागुनमा १०.०५ प्रतिशत रहेको मुद्दतीको ब्याज ११.०३ प्रतिशत पुर्याइएकाले लागत वृद्धि भइसकेको छ । विशेष गरी सर्वसाधारणले बैंकबाट पाउने अर्थात् निक्षेपको ब्याजदर प्रत्येक महिना घटबढ हुने गर्दछ ।
यता सर्वसाधारणले बैंकलाई तिर्नुपर्ने अर्थात् ऋणको ब्याजदर भने तीन/तीन महिनामा मात्रै घटबढ हुने गर्दछ । पछिल्लो केही महिना यता निक्षेपको ब्याजदर लगातार बढिरहेको छ । कर्जाको ब्याजदर भने हरेक त्रैमासमा बैंकहरुले सार्वजनिक गरेको आधार दर (बेस रेट)मा भर पर्छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासको भन्दा दोस्रो त्रैमासमा २७ वाणिज्य बैंकहरुको बेस रेट बढेको थियो । गएको असार मसान्तसम्म २७ वाणिज्य बैंकहरुको औसत बेस रेट ६ दशमलव ९१ प्रतिशत रहेकोमा पुस मसान्तसम्म आइपुग्दा ८.४० प्रतिशत पुगेको थियो । चैत मसान्तसम्मको बेस रेटको तथ्यांक भने वैशाखमा आउने गर्दछ । दोस्रो त्रैमासपछि पनि लगातार बैंकको लागत बढेकाले तेस्रो त्रैमासमा ऋणको ब्याजदर बढ्ने संकेत देखिएको छ । लागत बढेकै कारण वैशाखमा ब्याजदर बढ्ने बैंकर्सहरु बताउँछन् । हाल बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य रकमको अभाव छ ।
अधिकांश बैंकहरु ऋण दिनै नसक्ने अवस्थामा पुगेका छन् । बैंकमा निक्षेप नआएकाले आकर्षक ब्याजदर अफर गरेर निक्षेप तानिरहेका छन् । बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन घट्दै गएको छ । यसका कारण बैंक तथा वित्तीय संस्थालाई ऋण प्रवाहमा कठिनाइ हुँदै गएको हो । उनीहरुले ऋण प्रवाह खुम्च्याएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार गत आइतबारसम्म बैंक तथा वित्तीय संस्थाबाट ४६ खर्ब ९५ अर्ब रुपैयाँ ऋण प्रवाह भएको छ भने ४८ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । आइतबार मात्र बैंक तथा वित्तीय संस्थामा २ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । वार्णिज्य बैंकहरुमा मात्र नभइ विकास बैंक र फाइनान्सहरुले पनि ऋण दिन नसक्ने अवस्थामा पुगेका छन् । अघिल्लो दिनको तुलनामा आइतबार विकास बैंक र फाइनान्स कम्पनीको निक्षेप संकलन १ अर्ब रुपैयाँ घटेको छ । उक्त दिन वाणिज्य बैंकहरुले ३ अर्ब निक्षेप संकलन गरी १ अर्ब ऋण प्रवाह गरेका छन् ।
विकास बैंक र फाइनान्सले उक्त दिन कर्जा प्रवाह नगरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यो तथ्यांकले अहिले फाइनान्स कम्पनी र विकास बैंकमा निक्षेप संकलन घट्न थालेको देखाउँछ ।
सो दिन वाणिज्य बैंकको कर्जा निक्षेपबीचको अनुपात (सीडी रेसियो) ९० दशमलव ७० प्रतिशत कायम भएको छ । पछिल्ला दिनहरुरूमा सीडी रेसियोमा चाप परेको देखिन्छ । अघिल्लो दिन सीडी रेसियो ९० दशमलव ७४ प्रतिशत पुगेको थियो । यसले पनि बैंकहरू अहिले ऋण दिन नसक्ने अवस्थामा पुगेको देखाउँछ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बैंकहरुले निक्षेपमा आकर्षक ब्याजदर दिँदा लागत बढ्न गएको बताउँछन् । लागत बढ्दा बेस रेट बढ्ने भएपनि अहिले नै भनिहाल्न भने नमिल्ने उनको भनाइ छ ।
बैंकिङ विज्ञ अनलराज भट्टराई वैशाखामा बेस रेट ०.४ प्रतिशतसम्म बढ्नसक्ने बताउनुहुन्छ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप गत वर्ष ९ प्रतिशत भन्दा धेरैले बढेको थियो । यस वर्ष ३ प्रतिशत पनि बढेको छैन । तर कर्जाको ग्रोथ भने २५ प्रतिशत भन्दा बढी रहेकाले पनि बैंकहरुको आधारदर बढ्ने पक्का भएको उहाँको भनाइ छ । बैकहरुले निक्षेप संकलन गर्न नसक्दा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि उच्च देखिएको छ । ९० प्रतिशत कायम गर्नु पर्नेमा अधिकांश बैंकहरुको सीडी सीमा भन्दा माथि पुगेको छ ।
स्रोत: bankingkhabar
Comments