गाजा युद्धको समाधानका लागि साउदी अरेबियासँग वार्ता गर्दै अमेरिका
अमेरिकाले गाजाका युद्धको समाधानका लागि साउदी अरेबियासँग वार्ता गर्ने भएको छ । यसका लागि पश्चिम एसिया (मध्यपूर्व)स्थित अमेरिकी दूतले साउदीको भ्रमण गर्ने अल जजिराको समाचारमा उल्लेख छ ।
जहाँ गाजामा जारी इजरायली हमलाको समाधानका लागि स्थायित्व र शान्तिका प्रयासमा छलफल हुने बताइएको छ । अमेरिकाले यस वार्तामा लेबनानमा सम्भावित संघर्षविराम सम्झौताले गाजा क्षेत्रको लडाइँमा सकारात्मक प्रभाव पार्ने आशा गरेको छ ।
गाजामा इजरायलको कारबाहीले मंगलबार बिहानसम्म कम्तीमा ४४ हजार २३५ जनाको मृत्यु भएको छ । इजरायलले आक्रमण निरन्तर जारी राखेको छ ।
अमेरिकी दूतावासले यसको समाधानका लागि साउदीसँग वार्ता गर्ने निर्णय गरेको हो । जसले गाजा र लेबनानमा जारी संघर्षलाई समाप्त गर्ने उपायहरूका बारेमा छलफल गर्नेछ । गाजामा तत्काल संघर्षविराम र मानवीय सहायता पुर्याउने बारेमा ध्यान केन्द्रित हुने बताइएको छ ।
अमेरिका र साउदीको संयुक्त प्रयासले यो क्षेत्रको शान्तिका लागि थप पहल गर्ने विश्वास गरिएको छ । यसैगरी, कूटनीतिक प्रयासले भविष्यमा इजरायल र प्यालेस्टाइनबीचको लामो समयदेखि चल्दै आएको द्वन्द्व समाधान गर्न मद्दत पुर्याउने विश्वास छ ।
एजेन्सी
Comments