लगानी बोर्ड र महासंघबीच लगानी भित्र्याउने समझदारी पत्रमा हस्ताक्षर

लगानी बोर्डको कार्यालय र उद्योग बाणिज्य महासंघबीच स्वदेशी पुँजी जुटाउने र बिदेशी लगानी भित्र्याउने बिषयमा सहकार्य गर्ने सम्बन्धि समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको उपस्थितिमा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत शुशिल भट्ट र उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आइतबार बिहान हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा उपस्थित लगानी बोर्डको उपाध्यक्षसमेत रहनु भएको अर्थमन्त्री शर्माले ठूला परियोजनामा लगानी जुटाउनु आवश्यक रहेको बताउँदै प्रतिफल योग्य परियोजना छनौट गर्न सुझाव दिए । उनले लगानी प्रतिबद्धता हुने तर नआउने प्रवृत्तिलाई सुधार गर्न बोर्डको संचरना, ऐन, कानून, काम गर्ने व्यवहारलगायतमा शंशोधन गर्नुपर्ने बताए । ठूला परियोजनाका लागि पूँजी जुटाउन स्वदेशमै पर्याप्त पैसा भएको भन्दै उहाँले जनताको विश्वास जित्ने परियोजना छनौट गर्नुपर्ने बताए ।

“अहिले कुनै कम्पनीले प्राथमिक सेयर निस्काशन (आइपिओ) गर्यो भने माग भन्दा धेरै ठूलो रकमको आवेदन भइरहेको देखिन्छ । यो भनेको नेपालीसँग पैसा त छ तर प्रतिफल दिने उपयुक्त परियोजना नहुँदा लगानी जुटिरहेको छैन भन्ने हो,” उनले भने, “त्यसैले स्वदेशबाटै पूँजी जुटाउन पनि जनताले प्रतिफल दिन सक्छ भन्ने विश्वासयोग्य परियोजना छनौटतर्फ ध्यान दिनुहोला ।”

उनले जलविद्युत परियोजनामा स्वदेशी तथा बिदेशी लगानी आउनुको कारण प्रतिफलको ग्यारेन्टी नै प्रमुख कारण भएको बताउँदै अन्य परियोजनामा पनि प्रतिफलको सुनिश्चितता दिन सके लगानीका लागि खासै समस्या भोग्नुनपर्ने बताए । “आफैं ऋण तिर्न सक्षम परियोजना छनौट गर्यो भने त्यो ऋण परियोजनाले नै तिर्छ, जनतालाई अनावश्यक भार पर्दैन । त्यसैले यस्ता परियोजना छनौटमा विशेष ध्यान दिनुपर्छ’”, उनले भने ।

Comments

Back to top