श्रीलंका टाट पल्टिने अवस्थामा: यसका कारण र नेपालको सम्भावित जोखिम !

— बिनोद पुरुष

कुनै बेला सुनको लंका भनेर चिनिने श्रीलंका, वर्तमान अवस्थामा आर्थिकरुपमा टाट पल्टेको छ । आर्थिकरुपमा मात्र नभई, श्रीलंकामा अब मानवीय संकट निम्तिने अवस्था पुगेको छ । यस खालको संकट श्रीलंकाको इतिहासमै पहिलो पटक देखिएको हो ।

दुध एक किलोको प्याकेटमा होइन, १०० ग्रामको मात्रै पाइन्छ । अत्यावश्यक औषधी पाउन समेत गाह्रो भएको छ । तरकारी लगायत् खाद्यान्नहरुको मूल्य आकाशिएको छ । सीमित धनाढ्य बाहेक सर्वसाधारणले खाद्यान्न किन्ने अवस्था अब रहेन ।

श्रीलंकामा पेट्रोलियम पदार्थको पनि चरम अभाव देखिन्छ । केहि दिन अगाडि पेट्रोल पम्पमा लामो लाइन बस्दा २ जना सत्तरी वर्ष नाघेका नागरिक र झडपमा परी एक जना युवकको समेत ज्यान गएको थियो। ग्यास पसलहरु अब खुल्ने हुन् वा होइनन् भन्ने कुराको भर छैन । किनकी, अब ग्यास आयात हुने सम्भावना पनि रहेन ।

विदेशी मुद्रा भण्डारणमा परेको चापका कारण विद्यार्थीले परीक्षा समेत दिन पाएनन् । कागज किन्ने समेत डलर नहुँदा विद्यार्थीले सबैभन्दा बढी मार खेप्नु परेको छ । ऋणको भार यति धेरै बढेको छ कि अब देशको विश्वसनीयतामाथि नै प्रश्न चिन्ह खडा भएको छ । अहिले श्रीलंकामा सरकार छैन कि भन्ने भान जनतालाई भएको छ । श्रीलंकाको आर्थिक अवस्था यस्तो नाजुक हुनु पछाडिका प्रमुख ४ कारण यस प्रकार छन् :

१. अप्रत्यासित रुपमा अर्गानिक खेतीमा जोड

अर्गानिक खेतीमा जोड दिने र रासायनिक मलमा प्रतिबन्ध लगाउने श्रीलंका सरकारले गरेको हालैको निर्णयलाई अहिलेको अवस्थाको मुख्य कारकमध्ये एकको रुपमा लिइएको छ। श्रीलंका सरकारले देशमा रासायनिक मलमा पूर्ण प्रतिबन्ध लगाउँदै सतप्रतिशत अर्गानिक खेती गर्ने निर्णय गरेको थियो। अचानक र अप्रत्यासित रुपमा गरिएको यो निर्णयले श्रीलंकाको कृषि क्षेत्रलाई गहिरो प्रभाव पार्यो। एक अनुमानका अनुसार सरकारको यो निर्णयका कारण श्रीलंकाको कृषि उत्पादन आधाले घटेको छ।

२. खस्किँदो पर्यटन क्षेत्र

श्रीलंकाको अर्थतन्त्रमा कृषिपश्चात पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहँदै आएको छ। सरकारी तथ्यांकका अनुसार श्रीलंकाको कुल जीडीपीमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत रहेको छ। कोरोना महामारीको सुरुआतपछि अर्थात करिब २ वर्षदेखि पर्यटन श्रीलंकाको पर्यटन क्षेत्र ध्वस्त बनेको छ। श्रीलंकामा सबैभन्दा धेरै बेलायत, रुस र भारतका पर्यटकको आगमन हुने गर्छ। तर, कोरोना महामारीका कारण लगाइएका प्रतिबन्धहरुका कारण पर्यटकको आगमनमा कमी आएको छ। गहिरिँदो आर्थिक संकटका कारण अहिले  विश्वका कैयौँ देशहरुले आफ्ना नागरिकहरुलाई श्रीलंकाको यात्रा गर्नबाट बच्न सल्लाह दिइरहेका छन्।

३. चिनियाँ ऋणको जालो र विदेशी कर्जा

श्रीलंकामा चीनको मात्रै केवल ५ बिलियन डलरभन्दा धेरै ऋण रहेको छ।  यस्तै भारत र जापानका अलावा अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ)जस्ता संस्थाहरुको ऋणको बोझसमेत श्रीलंका सरकारमाथि छ। सरकारी तथ्यांकका अनुसार सन् २०२१ अप्रिलसम्म श्रीलंकामाथि कुल ३५ बिलियन डलरबराबरको ऋणको बोझ थियो। आर्थिक संकटबाट घेरिएको यो सानो टापु देशमाथि विदेशी ऋणको महंगो ब्याज भुक्तानी गर्नुपर्ने दवाब रहेको छ।

४. एमसीसीलाई अस्वीकार गर्नु

श्रीलंका सरकारले एमसीसी गरीब देशहरूमा आर्थिक वर्चस्व विस्तार गर्ने नव-साम्राज्यवादको औजार हो भन्ने आधारमा प्रस्ताव अस्वीकार गर्‍यो । यसरी, एमसीसी प्रोजेक्ट नकार्दा पश्चिमी मुलुकहरु उक्त देशप्रति चिढिए र आउने वैदेशिक सहायताहरु पनि रोक्न थाले । अमेरिकासँग टाढिएर चीनको बिआरआई पछि लाग्नु श्रीलंकाको लागि घातक बन्यो । यसले गर्दा वैदेशिक मुद्रा संचिति झन् झन् घट्दै गयो र आर्थिक सङ्कटको दरार बढ्यो । श्रीलंकामा अमेरिकी डलरको भण्डारण क्रमशः रित्तिदै गएको छ । हाल श्रीलङ्कासँग मात्र १.५ अर्ब डलर रहेको छ । त्यसले झन्डै एक महिनाको आयात त धान्न सक्छ तर केही महिनामैं उसले चर्को ब्याज र ऋणको किस्ता गरेर ६ अर्ब डलर जति बुझाउनुपर्ने हुनाले त्यो देश टाट पल्टिने अवस्थामा पुगेको हो ।

वैदेशिक मुद्रा संचिति लगातार कम हुँदा हाम्रो देश पनि कतै सोही बाटोमा जाने होइन भन्ने प्रश्न यतिबेला टड्कारो रुपमा खडा भएको छ । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार हाल नेपालसँग करिब १० अर्ब डलर वैदेशिक मुद्रा छ । यसले अहिलेको बढ्दो मूल्यमा पाँच महिनाको आयात मात्र धान्न सकिने स्थिति छ ।

त्यसकारण, तत्काल सरकारले गर्न सक्ने एउटा काम भनेको निजी सवारी साधनलाई जोर-बिजोर प्रणाली अन्तर्गत् चल्ने व्यवस्था गर्ने हो । यसले गर्दा पेट्रोलियम (जसले नेपालको आयातको आधाभन्दा बढि हिस्सा ओगट्छ ), त्यसको आयातलाई कम गर्न सकिन्छ । अन्य विलासी वस्तु र सेवाको आयातलाई पहिचान गरी योजनाबद्ध ढङ्ले स्वदेशमै प्रतिस्थापन गर्ने नीति लागु गर्न सकिन्छ । अर्को कुरा देशमा सुशासन हुनुपर्छ । सुशासनले वैदेशिक सहायता वृद्धि गर्न मद्दत गर्छ । नागरिकले पनि शून्य सहनशीलता लिएर भ्रष्टलाई चुनावमा हराउने हो भने ठूलो देशभक्ति हुनेछ । साथै, दीर्घकालिन रुपमा हामीले कृषिलाई औद्योगिकरण गरी कृषिमा आत्म-निर्भर बनी कृषि आयातलाई प्रस्तिस्थापन गर्न सक्छौँ । यसको लागि समेत हामीसँग पर्याप्त पूर्वाधार नभएकोले हामीलाई वैदेशिक सहायताको आवश्यकता अपरिहार्य देखिन्छ ।

Comments

Back to top