सुबिसुले बनायो नेपालकै ठूलो ‘मोडुलर डेटा सेन्टर’
सुबिसुले नेपालमा हालसम्मकै सबैभन्दा ठूलो मोडुलर डेटा सेन्टर सञ्चालनमा ल्याएको हो । कोरोना महामारीकाबीच कम्पनीले करिब दुई वर्ष लगाएर बालुवाटरमा तयार पारेको डेटा सेन्टर औपचारिक रुपमा प्रयोगमा आएको छ ।
डेटा सेन्टरका लागि आवश्यक र्याक, स्वीच लगायतका सबै सामग्री भर्टिभबाट ल्याइएको कम्पनीका प्रमुख प्राविधिक अधिकृत (सीटीओ) रामकृष्ण परियारको भनाइ छ । करिब अढाई वर्षअघि आगलागी भएको सुबिसुको कार्यालय नजिकै नयाँ डेटा सेन्टर तयार पारिएको छ । आधिकारिक रुपमा डेटा सेन्टरको स्तर मापन नगरिएको भए पनि टियर २.५ रहेको परियारको भनाइ छ ।
डेटा सेन्टरमा वैकल्पिक पावर सप्लाइको व्यवस्था समेत गरिएको छ । समान आठ–आठ र्याक रहेका दुई लाइनमा क्रमशः पहिलोमा ४० किलो वाट र दोस्रो लाइनमा ७० किलो वाट क्षमताको दोहोरो पावर सिस्टमको व्यवस्था मिलाइएको छ । हाल डेटा सेन्टरमा १६ टेराबाइट प्रति सेकेन्ड डाउनलोड तथा अपलोड क्षमता भएको सर्भर राखिएको कम्पनीले जनाएको छ । जसमा ‘वान प्लस वान’ प्रोटेक्सन राखिएको छ ।
तत्कालका लागि सुबिसुकै सेवा स्तरीय बनाउन सञ्चालनमा ल्याइएको यो डेटा सेन्टर भविष्यमा मागअनुसार अन्य कम्पनी तथा संस्थालाई समेत प्रयोग गर्न दिने योजना रहेको कम्पनीले जनाएको छ ।
Comments