एनटीसीमा ‘इन्साइडर ट्रेडिङ’को आरोप, उजुरी परे सेबोन अध्यक्षले छानबिन गर्ने

नेपालको सेयर बजार विगत केही सातादेखि अस्थिर छ। तरलता, बढ्दो ब्याजदर, राजनीतिक अस्थिरतालगायत विविध कारणले गर्दा बजारमा भारी अंकको उतारचढाव हुने गरेको छ।

बजारमा उतारचढाव हुनु स्वाभाविक हो। तर, बजारमा उतारचढावबीच कुनै एउटा कम्पनीको सेयरमूल्यका साथै कारोबार रकममा असर नगर्नु भनेको स्वाभाविक मान्न सकिन्न।

बजार घट्दा होस् वा बढ्दा होस्, उच्च कारोबार हुनुका साथै कम्पनीको मूल्य पनि असर नगरेको कम्पनी नेपाल टेलिकम (एनटीसी) को रहेको छ। बजार घट्दा पनि एनटीसीको मूल्य र कारोबार भने नघटेको देखिन्छ। गत अक्टोबर १९ मा एनटीसीको मूल्य ९९० रुपैयाँ थियो। हिजो दुई घन्टामात्र कारोबार हुँदा एनटीसीको कारोबार अधिकतम १७२९.९० रुपैयाँमा भएको छ। अर्थात् यो ५ महिनाको अवधिमा एनटीसीको मूल्य ७० प्रतिशतले बढिसकेको छ।

“इन्साइडर भएको हो कि होइन भन्ने फ्लोर सिटबाट हेर्दा हरकोहीलाई प्रस्ट हुन्छ”, बजारका अगुवा एक लगानीकर्ता भन्छन्, “विगत एक महिनादेखि एनटीसी एउटै ब्रोकरबाट खरिद भएको देखिन्छ। एउटै ब्रोकरबाट खरिद भएकाले गर्दा बजारले भन्दा पनि ब्रोकरले किनेको देखिन्छ। त्यसैले १०० प्रतिशत इन्साइडर भएको हो।”

“नेपाल धितोपत्र बोर्ड (सेबोन)मा नयाँ अध्यक्ष आउनुभएको छ। त्यसैले यस्तो गतिविधिमा संलग्न हरकोहीलाई कारबाही हुनेमा हामी विश्वस्त छौँ”, ती लगानीकर्ताले भने।

“कार्यभार सम्हालेको पहिलो दिनदेखि सेबोन अध्यक्ष रमेशकुमार हमालले नै इन्साइडर ट्रेडिङ गर्नलाई कारबाही गर्नुका साथै इन्साइडर भएको नभएको पत्ता लगाउने सिस्टम ल्याउने भन्नुभएको थियो”, ती लगानीकर्ताले भने, “यो त खुलेआम इन्साइडर हो। यो पत्ता लगाउन कुनै सिस्टमको आवश्यक पर्दैन। फ्लोर सिटमात्र हेरे पनि पुग्छ। त्यसैले सेबोन अध्यक्ष हमालको यो अग्नि परीक्षा हुनेछ।”

सेबोनका प्रवक्ता निरज गिरीले पनि एनटीसीमा इन्साइडर ट्रेडिङ भइरहेको सुन्नमा आएको बताए। “यस विषयमा सेबोनको सम्बन्धित विभागले अध्ययन गरेर छानबिन प्रक्रिया अगाडि बढाउनेछ”, उनले भने।

सेबोन अध्यक्ष हमालले भने यस विषयमा आधारिक रुपमा सूचना वा उजुरी परेको खण्डमा सेबोनले छानबिन गर्ने बताए। “छानबिनबाट इन्साइडर ट्रेडिङ भएको पुष्टि भएमा कारबाही हुन्छ”, उनले भने।

Comments

Back to top