आगामी यात्रा बुलिश हुने सेयर बजारको संकेत !

—रबिन सुबेदी

विगत केहि महिना देखि अर्थतन्त्रमा तरलता चाप बढिरहेको तथ्यहरु बजारमा यत्रतत्र फैलिएका छन्। तरलता चाप भएसँगै लगानीकर्ता, व्यवसायी, बैंकर सबै मर्कामा परेका छन्। तरलता सहज गर्नका लागि राष्ट्र बैंकलाई अहिले हम्मे-हम्मे भएको छ। तरलता संकटकै कारण अर्थ मन्त्रालयका साथै राष्ट्र बैंकले सेयर धितो कर्जामा, आयातमा प्रतिबन्ध, घरजग्गा कारोबारमा, सुन आयातमा कडाइ लगायतका कदम चालेको छ। तरलताको मारमा अहिले प्रत्यक्ष रुपमा भने सेयर लगानीकर्ताहरु परिरहेका छन् जसका कारण नेप्से निरन्तर ओरालो लागिरहेको देख्न सकिन्छ।

त्यस्तै तरलता संकट देखाउदै बैंकिंग संस्थाहरु पनि ब्याजदर वृद्धिलाई निरन्तरता दिन बाध्य भईरहेका छन्। राष्ट्र बैंकको निर्देशनले हरेक महिना १०% का दरले वृद्धि गर्न पाउने भानिए सँगै अहिले ब्याजदर ११ प्रतिशतमा पुगेको छ भने अन्तर बैंक रेट वृद्धि भएर झन्डै ७% पुगेको छ। फागुन महिनामा बसेको नेपाल बैंकर्स संघ (एनबीए) को बैठकले ब्याजदर बढाउने स्वतन्त्रता सम्बन्धित वित्तीय संस्थाहरुको निर्णय भएसँगै वाणिज्य बैंकहरुले ब्याजदर बढाएका थिए। नेपाल राष्ट्र बैंकको अघिल्लो महिनाको औसत ब्याजदरमा १० प्रतिशतले बढाउन पाउने निर्देशनलाई पालना गर्दै बैंकहरु ब्याजदर बढाएका थिए।

रुस-युक्रेन बीचको युद्धले नेपाल लगाएत विश्वको अर्थतन्त्रमा प्रत्यक्ष एवं परोक्ष प्रभाव परेको छ। पेट्रोलियम पद्धार्थदेखि लिएर विभिन्न बस्तुहरुको मुल्य वृद्धिले गर्दा आयातका माध्यमबाट पनि तरलतामा प्रभाव परेको देखिन्छ। साथै, सरकारले राष्ट्रिय खर्चहरु समयमा नगर्दा सरकारी ढुकुटीमा नै तरलता फ्रिज भएर पनि बजारमा तरलताको अभाव भएको आंकलन गर्न सकिन्छ।

तरलता सहज हुने आधार

चुनावी माहौल नजिकिने हुँदा सरकारको पुँजीगत खर्च विकासका काममा अब आक्रामक रुपमा वृद्धि हुँदै जान्छ। सरकारी ढुकुटीमा रहेका बजेटहरु बाहिरिने क्रम सुरु हुँदै छ भने निर्वाचनका लागि पनि खर्चको माहौल बढेको देखिन्छ । स्थानीय चुनाव वैशाख ३० मा हुने भनिएसँगै बजारमा सरकार साथै स्थानीय उम्मेदवारहरुबाट भएको चुनावी खर्च बैंकिङ प्रणालीमा आउने भएकाले तरलता केही हदसम्म सहज हुने जानकारहरु बताउँछन्। अहिले अधिकांश नागरिक सेयर बजारमा संलग्न भएकाले उक्त पैसा बैंकिङ प्रणालीबाट सेयर बजारमा आउने प्रबल सम्भावना रहेको छ। अर्थमन्त्रीले बारम्बार पुँजीगत खर्च गर्ने निर्देशन दिएसँगै तरलता केही सहज हुने अवश्य देखिन्छ। मन्त्रालयहरुबाट समयमै पुँजीगत खर्च गरेको खण्डमा तरलता छिट्टै नै सहज हुने वित्तीय जानकारहरुले बताउँदै आएका छन्।

नेप्से बजार वृद्धि हुने कारण

चैत महिनामा ब्याजदर स्थिर राख्ने बैंक तथा वित्तीय संस्थाहरुको निर्णयले पनि लगानीकर्ता बजारप्रति थप सकारात्मक हुने देखिन्छ। त्यसका साथै अहिले बोर्डका नवनियुक्त अध्यक्ष, नेप्सेका सीइओका साथै स्वयं अर्थमन्त्री अहिले पुँजी बजारप्रति सकारात्मक रहेको अवस्था छ। अर्थमन्त्रीको बजार सुधार र विस्तारका लागि ११ बुँदे निर्देशन, बोर्ड अध्यक्षको ब्रोकर कमिसन घटाउने, ब्रोकर लाइसेन्स वितरण गर्नेजस्ता अभिव्यक्तिले लगानीकर्ता बजारप्रति थप आशावादी र सकारात्मक देखिन्छन्।

प्राविधिक विश्लेषणलाई हेर्दा पनि नेप्सेले बटम लागेर फर्किएको देखिन्छ। गत साताको क्यान्डल ह्याम्मरले पनि बुलिश संकेत गरेको छ भने आरएसआइले ओबर सोल्ड देखाएको छ र विभिन्न अरु सूचकहरुले बुलिस संकेत गरेका छन्।

लगानीकर्ताहरुको मनोविज्ञानका आधारले पनि लामो समयसम्म घट्दो क्रममा रहेको बजार गत बिहीबार ५२.३२ अंकले बढेसँगै लगानीकर्ता उत्साहित देखिएका छन्। अहिले लगानीकर्तासँग थप लगानी गर्न बैंक तथा वित्तीय संस्थाले कर्जा प्रदान गर्न राष्ट्र बैंकले थप तरलता बजारमा पठाएको छ। सरकारले चुनावी खर्च गर्ने, विकास खर्च गर्ने देखि लिएर तरलता सहज हुनुका साथै बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रदान गर्नेमा लगानीकर्ता ढुक्क देखिन्छन्। यी सम्पूर्ण कारणहरुले गर्दा पुँजीबजारमा थप लगानी गर्ने वातावरण सिर्जना हुने देखिन्छ।

Comments

Back to top