एसटीसीको क्यान्डल स्टिक ‘बुलिस हरामी’, सेयरमूल्य कतिसम्म पुग्ला ?
साल्ट ट्रेडिङ कर्पाेरेसन (एसटीसी) निजी–सार्वजनिक साझेदारीमा खुलेको नेपालकै सबैभन्दा ठूलो व्यापारिक संस्था हो। यो कम्पनीको स्थापना ४८ वर्षअघि भएको थियो। सन् १९६३ मा दर्ता भई सञ्चालनमा आएको यो कम्पनीले दैनिक उपभोग्य वस्तुहरु सहुलियत रुपमा उपलब्ध गराउँदै आएको छ।
यो कम्पनीमा ७९ प्रतिशत स्वामित्व सरकारको र २१ प्रतिशत स्वामित्व सर्वसाधारणको रहेको छ। कम्पनीको केन्द्रीय व्यापारी कार्यालय काठमाण्डौको कालीमाटीमा छ। यसका शाखा, उपशाखा र डीपोहरु देशभर छरिएर रहेका छन्।
कम्पनीले अत्यावश्यक दैनिक उपभोग्य वस्तु नुन, तेल, चामल, चिनी र ग्यासजस्ता वस्तुहरु सहुलियत मूल्यमा बिक्रीवितरण गर्दै आएको छ। कम्पनीले कोइला, टायर तथा सिमेन्ट पनि सस्तो तथा सुलभ मूल्यमा बिक्री गर्ने जनाएको छ।
चालु आर्थिक वर्षको प्रथम त्रैमासम्म चुक्तापुँजी २३ करोड रुपैयाँ रहेको कम्पनीको जगेडामा १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। यो अवधिमा कम्पनीले ४८ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
कम्पनीको वार्षिकीकरण ईपीएस ८.४८ रुपैयाँ, नेटवर्थ ४४९.६४ रुपैयाँ र प्रतिसेयर कुल ३७७७ रुपैयाँ रहेको छ। कम्पनीको नौ वर्षको औसत लाभांश २९.५ प्रतिशत रहेको छ।
क्यान्डल स्टिक विश्लेषणअन्तर्गत यो कम्पनीको सेयर मूल्यलाई चार्टमा राख्दा ‘बुलिस हरामी’ क्यान्डल बनेको देखिन्छ। जापानिज भाषामा हरामीको अर्थ गर्भवती महिला भन्ने बुझिन्छ। जब क्यान्डल स्टिकको प्याट्रन बन्दा दुई क्यान्डल जोडेर हेर्दा यदि चार्टमा गर्भवती महिलाजस्तो आकृति बन्छ भने त्यसलाई हरामी क्यान्डल भनेर बुझिन्छ। दुईवटा क्यान्डलमा पहिलो क्यान्डल आमाको आकृति र दोस्रो क्यान्डल बच्चाको जस्तो देखिन्छ। बुलिस हरामी चार्टको न्यून विन्दुमा बन्ने गर्छ। यदि रातो लामो क्यान्डलको ठीकपछाडि छोटो हरियो क्यान्डल बन्छ भने यसलाई बुलिस हरामी भनेर बुभिन्छ। यसले ट्रेन्ड परिर्वतनको संकेत गर्छ। यस्तो अवस्थामा खरिदकर्ता हावी भएका हुन्छन्।
Comments