एचआइडीसीएलकाे सेयर लिलामी लफडा: नियामक र कम्पनीका कारण लगानीकर्ता मर्कामा

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) ले हकप्रद सेयर (संस्थापकतिरको) लिलामी स्थगन भएको करिब दुई साता बित्न लागिसकेको छ।

तर, बाँडफाँड भएको छैन। लिलामीमा राखिएको सेयर कुन समूहमा रहने भन्ने अन्योलले बाँडफाँट नभएको हो। यो विषयमा एचआइडीसीएल, नियामक धितोपत्र बोर्ड र राष्ट्र बैंकबीच जेलिएको छ। लिलामीको सेयर किन्न अघि सरेका लगानीकर्ताको पैसा ‘फ्रिज’ भएर बसेको छ।

दोस्रो पटक लिमामीमा कम्पनीले राखेको संस्थापक समूहतर्फको ३ करोड ३० लाख कित्ता सेयर खरिद गर्ने लगानीकर्ताहरु कुन समूहमा रहने भन्ने यकिन छैन। कम्पनीले ११ अर्ब रुपैयाँ चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद निष्कासन गरेको थियो। त्यसमध्ये ७ अर्ब ७० करोडको सेयर बिक्री भइसकेको छ। यो सेयर संस्थापक र साधारण दुवै समूहमा सूचीकृत छ।

बाँकी रहेको ३ करोड ३० लाख कित्ता सेयरमा भने समस्या देखिएको हो। यो सेयर संस्थापक भए पनि साधारण समूहमै कारोबार हुने भनेर बिक्री प्रबन्धकले सूचना निकालेपछि अन्योल भएको हो। यस विषयमा धितोपत्र बोर्डले स्पष्टीकरण सोधेपछि संस्थापकको संस्थापकमा र साधारणको साधारण समूहमै कारोबार हुने बिक्री प्रबन्धकले जनाएको छ।

यसबीचमा साधारण समूह अन्तर्गत नै कारोबार हुने भनेर लगानीकर्ताले लिलामीको सेयर उठाउन आवेदन दिइसकेका थिए। ‘संस्थापक र सर्वसाधारण सेयरको वर्गीकरणमा द्विविधा देखिएको छ। यही कारण एचआइडीसीएलसँग स्पष्टिकरण माग गरेका हौं,‘ धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बिजमाण्डूसँग भने, ‘कम्पनीका तर्फबाट यस विषयमा आवश्यक जबाफ प्राप्त भइसकेको छ। आगामी प्रक्रियाका लागि कम्पनीको नियमक निकाय राष्ट्र बैंकलाई हामीले पत्राचार गरेका छौं।’ एचआइडीसीएललाई राष्ट्र बैंकले वित्तीय संस्था बराबरको मान्यता दिएको छ। त्यही भएर बोर्डले राष्ट्र बैंकसँग प्रष्ट हुन खोजेको हो।

राष्ट्र बैंकबाट निर्णय भएलगत्तै बोर्डले आगामी प्रक्रिया बढाउन कुनै प्रकारको ढिलासुस्ती नगर्ने अध्यक्ष हमालले बताए।

एचआइडीसीएलको ‘लकिङ पिरियड’ समाप्त भइसकेको छ। यद्यपि लिलामी पश्चात संस्थापकतर्फको सेयर संस्थापक श्रेणीमै रहने तथा सर्वसाधारणपट्टिको सर्वसाधारण वर्गमै रहने उनले स्पष्ट पारे।

संस्थापकको ३ करोड ३० लाख कित्ता हकप्रद सेयर योग्य प्रवर्द्धकहरूमार्फत दाबी नै भएको थिएन। संस्थापकसँगै केही सर्वसाधारणतर्फको हकप्रदका लागि पनि आवेदन परेको थिएन। यही सेयर कम्पनीले पुन: लिलामीमार्फत बिक्रीमा राखेको हो।

कम्पनीमा ८० प्रतिशत सेयर संस्थापक छ भने २० प्रतिशत सर्वसाधारणको हिस्सा छ। ८० प्रतिशतमध्ये २० प्रतिशत अर्थमन्त्रालयको छ। बाँकी १० प्रतिशतका दरले ऊर्जा, कानुन मन्त्रालय, महालेखा नियन्त्रक, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको छ। यिनैमध्येले सेयर नभरेकाले लिलामीमा राख्नु परेको हो।

धितोपत्र बोर्डले गत फागुन १२ गते अर्को सूचना प्रकाशित नभएसम्म लिलामी स्थगित गर्न भनेको थियो। यो सेयर खरिद गर्ने लगानीकर्ता कुन समूहमा रहने तथा यो सेयरको कारोबार प्रक्रिया कुन व्यवस्थाबाट हुने भन्ने विषय स्पष्ट नभएकाले लिलामी स्थगन गरी यो विषयहरु बोर्ड तथा सर्वसाधारण लगानीकर्ताहरुलाई स्पष्ट गरेपछि मात्रै बिक्री प्रक्रिया अगाडि बढाउन भनेको छ।

एचआइडीसीएलको अवितरित हकप्रदमा नीतिगत भ्रष्टचार भएको भन्दै सेयर लिलामी प्रक्रिया स्थगन गर्न मागसहित स्वतन्त्र पुँजीबजार सुधार संघले धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको थियो।

एचआइडीसीएलले लिलामी प्रक्रियामा न्युनतम एक करोड कित्ताका लागि आह्‍वान गर्नेले मात्र सहभागिता जनाउन सक्ने व्यवस्था उल्लेख गर्दै सूचना जारी गरेको थियो।

यस विषयमा एचआइडीसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले कम्पनीको प्रबन्धपत्रमा भएको नीतिकै अधिनमा रही कम्पनीले सूचना प्रकाशित गरेको बताए।।

‘हामीले हाम्रो नियमको विषय बाहिर गएर गरेको निर्णय होइन। एचआइडीसीएलको प्रबन्ध पत्रमा संस्थापकसरह योग्य हुन एक करोड कित्ताको होल्डिङ आवश्यक पर्ने व्यवस्था छ। यही कारण लिलामी सूचना प्रकाशित गर्दा एक करोड कित्ता लिने गरी अक्सनमा सहभागी हुने पाउने भने सूचना सार्वजनिक गरिएको हो,’ प्रमुख कार्यकारी अधिकृत गौतमले भने।

सर्वसाधारणसरह कारोबार हुनेगरी संस्थापकतर्फको सेयर पुन: लिलामीमा जाँदा एकल सर्वसाधारणले उल्लेखित मात्राको सेयर किन्न गाह्रो हुन्छ। प्रबन्धपत्रमा रहेको यही नीति संशोधन गर्दै कम्पनी स्थापना भएपछि संस्थापक समूहतर्फको सेयर खरिद गर्ने सेयरधनीको हकमा यो प्रावधान लागु नहुने नयाँ व्यवस्था कम्पनीले अपनाएको प्रमुख कार्यकारी अधिकृत गौतमले बताए।

स्रोत: bizmandu

Comments

Back to top