भैँसी पालेर नामसँगै दाम कमाउँदै दाङ्गकी नारी उद्यमी

धेरै पढेपछि जागिर खानुपर्छ भन्ने सोच बोकेका युवालाई दाङकी एक महिलाले गतिलो सन्देश दिएकी छिन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४३ वर्षीया वकी डाँगी व्यावसायिक भैँसीपालन थालेकी छन् । भैँसीपालन व्यावसाय शुरु गरेकी उनी अहिले नामसँगै दाम कमाउँदै आएकी हुन् । व्यावसायिक भैँसीपालनबाट राम्रो आम्दानी गर्दै आएकी उनीसँग अहिले जिल्लाका अन्य पशुपालक किसानले समेत सुझाव र सल्लाह लिन आउने गरेका छन् । छोटो समयमा एक सफल महिला उद्यमीका रुपमा आफूलाई चिनाउन सफल भएकी डाँगी विगत आठ वर्षदेखि व्यवसायिक भैंसीपालनमा रमाउँदै आएकी छन् । उनी आफूसँगै घरपरिवारका दुई सदस्यसहित भैँसीपालनमा संलग्न छन् । अहिले उनले आफ्नो भौंसीफार्ममा दुई जनालाई रोजगारी समेत दिएकी छन् ।

पशुपालन पेशाबाट सन्तुष्ट रहेकी डाँगीले भनिन्, “यो पेशाबाट वार्षिक करिब रु सात लाख बचत गर्न सफल भएको छु, यसलाई सन्तोष नै मान्नुपर्छ ।” उनको दिनचर्या बिहानको मिर्मिरे उज्यालोदेखि सुरु हुन्छ । प्रायःभैँसीका पाडापाडीको स्याहारसुसारमा उनी धेरै व्यस्त देखिन्छिन् । परम्परागत रुपमा खेतीपाती गर्दै आएकी डाँगीले विसं २०७० मा शुभ भैँसी फार्म दर्ता गरी व्यावसायिकरुपमा नै भैँसीपालनको सुरुवात गरिएको बताउँछिन् । उनले भनिन्, “सुरुमा रु एक लाखमा एक उन्नत जातको भैँसी खरिद गरी व्यवसाय गरेका हौँ । अहिले भने फार्ममा सानाठूला गरी ३८ वटा भैँसी छन् ।”

तीमध्ये १० वटा दुना रहेका छन् । ती भैँसीले दैनिकरुपमा ८० देखि ९० लिटर दूध दिने गरेको र उक्त दूधलाई तुलसीपुर बजारमा आफैँले डेरी उद्योग सञ्चालन गरी बिक्री गर्ने गरेको र केही दूध आफ्नै फार्मबाट स्थानीवासीले खरिद गरी लग्ने गरेको उनले बताईन् । कोरोना महामारीमा आफूले उत्पादन गरेको दूधले उचित बजार नपाउँदा केही घाटा बेहोर्नु परेको भए पनि अहिले भने बजारको कुनै समस्या नरहेको उनको भनाइ छ । “विगत छ महिनायता आफैँले डेरी उद्योग पनि सञ्चालन गरेका छौँ, अहिले आम्दानी राम्रो छ”, उनले भनिन् । दाङमा अहिले दूधको खुद्रा मूल्य रु ८० र दहीको रु ९० प्रतिलिटर रहेको र आगामी चैत १ गतेदेखि भने सो मूल्यमा रु १० वृद्धि हुने यसअघि नै निर्धारण भइसकेको छ ।

मङ्गलबार डाँगीको भैँसी फार्ममा दूध खरिद गर्न आएकी तुलसीपुर उमहानगरपालिका–६ रजौराका ४३ वर्षीया राधा पाण्डेले आफ्नै घर आँगनमा शुद्ध दूध खान पाइने भएकाले किन्न आएको बताईन् । उनले भनिन्, “यसअघि एक लिटर दूध किन्न पनि तुलसीपुर बजार जानुपर्ने बाध्यता थियो तर अहिले घर छेउमा ताजा दूध पाउँदा खुसी लागेको छ ।” डाँगीको फार्ममा अहिलेसम्म रु २५ लाखसम्म लगानी भइसकेको छ भने दुग्धजन्य पदार्थ र मूल बिक्रीबाट वार्षिक रु २० देखि २५ लाखसम्म आम्दानी हुने गरेको छ । डाँगी भन्छिन् , “आन्तरिक व्यवस्थापकीय सबैजसो खर्च कटाएर गत वर्ष कम्तीमा पनि रु सात लाख बचत गर्न सफल भएका हौँ । यसपटक डेरी पनि सञ्चालन गरेकाले त्यो बचत रकम बढ्ने अपेक्षा लिएकी छु ।”

घाँसको पर्याप्त उत्पादन नहुँदा दाना तथा पराल, चरणलगायत अन्य सामग्री खरिद गर्दा लागत खर्च बढेको उनको भनाइ छ । “अहिलेसम्म सरकारी निकायबाट केही प्राविधिक सहयोग त पाएको छु तर अरु आर्थिक सहयोग कुनै निकायबाट पाएको छैन”, उनले भनिन् । कम लगानीमा छोटो समयमा मनग्ये आम्दानी गर्न सकिने भएकाले अहिले उहाँको भैँसी फार्ममा विभिन्न ठाउँबाट भैँसी हेर्न, जानकारी लिन तथा भैँसी खरिदका लागिसमेत मानिस आउने गरेका छन् ।“पढेलेखेका युवा पैसा कमाउनकै लागि जागिर खानैपर्छ वा विदेश नै जानुपर्छ भन्ने छैन”, उनले भनिन् । पढेको कुरा व्यवहारमा लागू गर्ने हो भने कृषि व्यवसाय गर्नुपर्ने उनको भनाइ छ ।

राज्यले नारामा मात्र सीमित नभई व्यावहारिकरुपमै कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने धारणा उनको छ । त्यस्तै उत्पादित सामग्रीलाई बजारको प्रबन्ध गर्नसकेमा किसानमा अझै ठूलो हौसला मिल्ने उनको सुझाव छ ।

स्रोत: रासस

Comments

Back to top