एनआइसी एसिया बैंकले चैत २० गते वार्षिक साधारण सभा गर्दै

एनआइसी एसिया बैंकले २४ औ वार्षिक साधारण सभा आगामी चैत २० गते गर्ने भएको छ। बैंकको साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान ९ बजेबाट सुरु हुनेछ।

सभाले बैंकको स्वतन्त्र संचालक पदमा ललितपुरको सानेपाकी विजया स्वाँरलाई नियुक्त गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। कात्तिक १० गते सम्पन्न संचालक समितिको ५१२औ बैठकले बैंकको स्वतन्त्र संचालक पदमा स्वारलाई नियुक्त गर्ने निर्णय गरेको थियो।

यस्तै, सभाले बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन/थप गर्ने र उक्त कार्य सम्पन्न गर्न संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई त्यो अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

सामान्य प्रस्तावतर्फ सभाले आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको प्रतिवेदनउपर छलफल गरी पारित गर्नेछ। त्यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाहलगायतका वार्षिक वित्तीय विवरणहरुमा छलफल गरी स्वीकृत गर्नेछ।

बैंकसँगै सभाले सहायक कम्पनी एनआइसी एसिया लघुवित्त वित्तीय संस्था तथा एनआइसी एसिया क्यापिटलको आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गर्नेछ।

सभाले सस्थापक सेयरधनीका तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने ३ जनालाई संचालकका लागि निर्वाचन पनि गर्ने उल्लेख छ।

साधारणसभा प्रयोजनका लागि बैंकले चैत ८ गते देखि चैत २० गतेसम्म सेयर दाखिल खारेज दर्ता बन्द रहेने जानकारी दिएको छ। जसअनुसार चैत ७ गतेसम्म कायम सेयरधनिहरुले मात्र बैंकको २४औं वार्षिक साधारण सभामा भाग लिन योग्य हुनेछन्।

Comments

Back to top