सेयर बजारको ग्राफ अन्तिम मिनेटमा सधैँ माथि तानिन्छ, कसले खेल्छ यस्तो खेल?
ख्याल गर्नुभएको छ: सेयर बजारमा प्रायः सधैं एउटा दृष्य दोहोरिरहन्छ – अन्तिम मिनेटमा सूचकको ग्राफ दिनभरको उतारचढाव विपरीत तल-माथि भएकै हुन्छ। र, त्यसमा पनि प्रायः बढेर पुच्छर माथि फर्किएजस्तो ग्राफ देखिन्छ।
सामान्य अंक मात्र किन नहोस् धितोपत्र कारोबार ग्राफमा अन्तिम ५ मिनेट हाराहारी उक्लिने गरेको छ। तर अन्तिम मिनेटमा कसले र किन यसरी सूचकमा खेल्न खोज्छ वा खेलेजस्तो देखिन्छ? यति छोटो समयसीमाको प्रयोग प्रत्येक दिन कसले गर्छ र किन सेयर बजारले यस्तो सक्रियात्मक प्रतिक्रिया दिन्छ?
धेरैजसो लगानीकर्ताको मनोविज्ञान बजार बन्द हुनुअघि थोरै मात्र भए पनि कारोबार गरौं भन्ने हुने सेयर बजार विश्लेषक विष्णुप्रसाद बस्याल बताउँछन्।
‘भोलिपल्ट कारोबारको सुरु ग्याप अफ ओपनिङबाट नै हुन्छ र सो अवस्थामा नाफा बुकिङको पर्याप्त अवसर पनि प्राप्त हुने सम्भावना आकलन गर्दै लगानीकर्ताहरुले थोरै मात्र भए पनि सेयर खरिद गर्ने गरेको प्रवृत्ति बजारमा भेटिन्छ,’ उनले भने।
यो पनि अन्तिम मिनेटमा सूचक तल-माथि हुनुको एउटा कारण हुनसक्ने देखिन्छ।
यसबाहेक व्यक्तिगत स्वार्थ र छोटो समयमा अधिक लाभ खोज्ने गिरोह पनि सेयर बजारमा अन्तिम प्रहरमा सक्रिय हुने बस्यालको तर्क छ।
‘बजार बन्द हुँदै गर्दा आम कारोबारीहरू बजारबाट बिदा भइसकेका हुन्छन्। अधिकतम कित्ताहरू पनि उनीहरूसँगै प्रणालीबाट बाहिरिन्छ,’ उनले थपे, ‘यही अवसरको उपयोग गर्दै व्यक्तिगत लाभका लागि न्यून बिक्री चाप भएका स्क्रिपहरु खरिद हुने गरेको छ। जसका कारण उक्त सेयरको मूल्य र बजार परिसूचक दुवैलाई उक्लिन थप ऊर्जा प्राप्त हुने गर्छ।’
यो प्रवृत्ति बिल्कुलै नौलो भने होइन। विगतमा पनि यस्ता क्रियाकलाप हुँदै आएका थिए। सेयर बजारको वर्तमान परिप्रेक्ष्यमा पनि सोही व्यवहारसँग बजार र लगानीकर्ता बारम्बार परिचित भइरहेको अनुभव बजार विश्लेषकहरुको छ।
खरिदकर्ताको तीव्र चाप सिर्जना हुँदा नै परिसूचक बढ्ने एक ब्रोकर संस्थाका कार्यकारी अध्यक्षले बताए। ‘बजार बन्द हुनु ठिकअघि किन्दा अन्तिम कारोबार मूल्यमा चाहेको सेयर खरिद गर्ने अवसर लगानीकर्ताले पाउँछन्,’ उनले भने, ‘अन्तिम कारोबार मूल्यमा किनेको सेयर भोलि बजारको प्रदर्शन अनुरूप बेच्न सहज हुन्छ।’
दैनिक कारोबारमा खेल्न रुचाउने लगानीकर्ताहरुले अन्तिम किनबेच मूल्यमा सेयर खरिद गर्दा भोलि कारोबारको ओपनिङ सेसनमा नै ५/१० रुपैयाँ बढाएर बिक्री गर्दै प्रोफिट मार्जिन सेट गर्ने गरेको उनी बताउँछन्।
के मार्जिन कर्जाको पनि छ अन्तिम मिनेटको उछालमा भूमिका?
सेयर धितो राखेर कर्जा लिएका लगानीकर्ताहरुका कारण पनि बजारको अन्तिम केही मिनेटको ग्राफ उक्लिने गरेको सम्भावना देखिन्छ।
बैंकहरुले त्यसरी धितोमा राखेको सेयरको बजार मूल्य तोकिएको सुविधा सीमाबाट तल जानेवित्तिकै मार्जिक कल गर्ने गर्दछन्। लगानीकर्ताले सेयर धितोवापत आफ्नो मार्जिन अकाउन्टमा कायम राख्नुपर्ने न्यूनतम रकमबाट उक्त सेयरको कुल बजार मूल्य तल ओर्लनेबित्तिकै थप रकम डिपोजिट गर्नुपर्ने हुन्छ। त्यसैका लागि बैंकले आह्वान गर्ने रकम मार्जिन कल हो।
मार्जिन कल खासगरी सेयर ब्रोकर कम्पनीमा निश्चित रकम जम्मा गरेर मार्जिन अकाउन्ट खोल्ने र सोहीमार्फत सेयर कारोबार गर्ने क्रममा धितो रकम र मार्जिन सुविधाबाट किनिएको धितोपत्रको बजार मूल्य निर्धारित सीमाबाट तल जानेबित्तिकै ब्रोकर कम्पनीले थप रकम जम्मा गर्नका लागि आह्वान गर्ने अवधारणा हो।
अन्तर्राष्ट्रिय बजारमा यस किसिमको अभ्यास भए पनि नेपालको पुँजीबजारमा भने यो ‘मार्केट टुल्स’ त्यसअनुरुप प्रभावकारी रुपमा प्रयोग भएको पाइँदैन। बैंकहरुमा नै सेयर धितो राखेर कर्जा लिने उपकरणका रुपमा यसलाई प्रयोग गरिएको छ।
कोभिड महामारी सुरु भएयता मार्जिन लोन लिनेको संख्यामा उल्लेख वृद्धि भएको थियो। बढ्दो सेयर धितोमा राख्दै ‘मार्जिन लेण्डिङ’ प्रवृत्तिको कर्जा उपभोग गर्ने लगानीकर्ताहरू बढ्दो क्रममा देखिएका छन्।
यसरी प्रवाह हुने कर्जाको हकमा सुरक्षणवापत राखिने सेयरको मूल्यांकन गर्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट प्रकाशित १८० कार्य दिनको अन्तिम कारोबार मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ सो रकमको ६५ प्रतिशत रकमसम्म मात्र सेयर धितो कर्जा बैंक तथा वित्तीय सस्थाहरुले प्रवाह गर्न पाउने व्यवस्था छ।
साथै, सेयर बजारमा हुने परिवर्तनका करणले सेयर धितो सुरक्षणको मूल्यको कमी आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सोको मूल्य अनुगमन गरी थप धितोको लागि ऋणी ग्राहकलाई सूचित गर्नुपर्ने व्यवस्था पनि छ।
बैंकले ‘मार्जिन लेण्डिङ’ कर्जा प्रवाह गर्दा सेयरको मार्केट भ्यालुएसन र प्रतिकित्ता सेयरको मूल्यमा आधारित कर्जा उपलब्ध गराउने गर्छ। कारोबार मूल्य धितोमा राखिएको औसत प्रतिसेयर मूल्यभन्दा कम हुँदै गएको अवस्थामा बैंकले ऋणीलाई ‘मार्जिन कल’ गरी सचेत गराउन थाल्दछ।
सोही सन्दर्भलाई गाँस्दै ऋणी ग्राहकहरू आफ्नो धितोमा राखेको सेयर मूल्य मार्जिनभन्दा कम नहोस् भन्ने चाहना राख्ने र यो कारणले पनि सेयर बजारमा अन्तिम समयमा सूचकको ग्राफ थोरै उक्लिने गरेको हुनसक्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रवक्ता मुराहरी पराजुली बताउँछन्।
मार्जिन कर्जाका कारण पनि सेयर बजारको अन्तिम समयमा देखिने यो दृष्यको कारण खुलाउँदै उनी थप प्रष्ट्याउँछन्, ‘उदाहरणका लागि यदि मैले मेरो एक लाख कित्ता सेयर बैंकमा धितोस्वरूप राखी सोबापत मार्जिन प्रवृत्तिको कर्जा उपभोग गर्दै छु भने बैंकले अवश्य पनि मलाइ प्रतिसेयर मूल्यको मापदण्ड तोकिदिने गर्छ। म ग्राहक र सेयरधनी दुवै हुँदा मेरो सेयर मूल्यको गिरावट पनि चाहँदिन र मैले बैंकमा राखेको एक लाख कित्ता सेयरको प्रतिसेयर मूल्यको मापदण्ड पनि तोड्न नचाहने हुँदा उक्त सेयरको अन्तिम कारोबार मूल्य मार्जिनभन्दा माथि नै राख्ने प्रयत्न गर्छु।’
यही प्रयत्न हुँदा अन्तिम केही मिनेटमा लगानीकर्ताले आफ्नो सेयरको मूल्य मार्जिनभन्दा माथि राख्न सक्दो सेयर अधिकतम मूल्यमा खरिद गर्ने कोसिस गर्छ र यसको प्रत्यक्ष प्रभावस्वरुप बजारले अन्त्यतिर केही अंक उक्लिएर देखिने उनको भनाइ छ।
स्रोत: bizmandu
Comments