नेप्से ओरालो लाग्दा ५२ हप्ताको न्यूनतम मूल्य नजिक कारोबार हुँदै लघुवित्त, बीमा र वाणिज्य बैंकहरु

सेयर बजारमा हाल कारोबार भइरहेका ४२ वटा कम्पनी ५२ हप्ताको न्यूनतम मूल्य नजिक कारोबार हुँदैछन्। परिसूचकले लिएको फराकिलो छलाङपछि बढेका कतिपय इक्विटी तथा म्युचुअल फन्डहरू हाल प्रारम्भिक मूल्य विन्दु नजिक कारोबार हुँदै छन्। परिसूचक दोब्बर भई फर्किँदा त्यसको प्रभाव सूचीकृत सेयरहरूमा पनि पर्न गएको हो।

लाभांश वितरण गरिसकेका अधिकतम कम्पनीमा मूल्य समायोजनको दबाब पनि परेको छ।

धितोपत्र बजारमा हाल कारोबार हुँदै गरेको सर्वाधिक महंगो सेयर युनिलिभर नेपाल लिमिटेड पनि ५२ हप्ताको न्यूनतम मूल्य नजिक खरिद बिक्री हुँदै छ। अन्तिम कारोबार पश्चात् कम्पनीको सेयर प्रति कित्ता १८ हजार ६ सय रुपैयाँमा किनबेच भएको छ।

कम्पनीको ५२ हप्ताको न्यूनतम मूल्य १८ हजार ५० रुपैयाँ छ। ५२ हप्ताको उच्चतम बिन्दूबाट युनिलिभर नेपालको सेयर मूल्य १९.७६ प्रतिशत घटेको हो।

उत्पादन तथा प्रशोधन उपसमूहकै अर्को कम्पनी हिमालयन डिस्टिलरी पनि ५२ हप्ताको न्यूनतम मूल्य नजिकै कारोबार हुँदैछ । ३८१२ रुपैयाँ ५२ हप्ताको निउनतम मूल्य रहेको हिमालयन डिस्टिलरीको सेयर प्रति कित्ता ३८३१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

५२ हप्ताको उच्चतम विन्दुबाट हिमालयन डिस्टिलरीको सेयर मूल्य ५१.७४ प्रतिशत घटेको छ । ७९३८ रुपैयाँ कम्पनीको ५२ हप्ताको उच्चतम मूल्य विन्दु हो ।

एक वर्षको अवधिमा उच्चतम विन्दुबाट ५० प्रतिशत अधिक ओरालो लागेर ५२ हप्ताको न्यूनतम मूल्य नजिक कारोबार हुँदै गरेका कम्पनी उन्नति सहकार्य लघुवित्त, शिखर इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स र कर्पोरेट डेभलपमेन्ट बैंक पनि हुन् ।

५२ हप्ताको उच्चतम विन्दूबाट कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ५८.६१ प्रतिशत घट्दा आइएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य ५५.२९ प्रतिशत, उन्नति सहकार्य लघुवित्तको ५२.०६ र एसियन लाइफ इन्स्योरेन्स ५०.०३ प्रतिशत घटेको छ।

नेपाल लाइफको सेयर मूल्य पनि एक वर्षको उच्चतम विन्दुबाट करिब ५० प्रतिशत तल ओर्लिएको छ। २३३१ रुपैयाँमा कारोबार भएको इन्स्योरेन्सको सेयर हाल ११७० रुपैयाँमा अन्तिम कारोबार भएको छ। इन्स्योरेन्सको ५२ हप्ताको न्यूनतम मूल्य ११५० रुपैयाँ हो।

एक वर्षको अवधिमा उच्चतम विन्दूबाट ४० प्रतिशत अधिक घटेका २५ वटा कम्पनी छन्। लघुवित्त वर्गका संस्थाहरूमा यस्तो प्रभाव परेको देखिन्छ। नेशनल माइक्रो फाइनान्स लघुवित्त, मिथिला लघुवित्त, माहुली लघुवित्त, छिमेक, मिर्मिरे, साना किसान, विजया, गणपति, इन्फिनिटी, निर्धन उत्थान, समिट, आरएमडिसी र एनएमबी लघुवित्त ५२ हप्ताको उच्चतम विन्दुबाट ४० प्रतिशत अधिक घटेका लघुवित्त उपसमूह अन्तर्गतका संस्था हुन्।

प्रिमियर इन्स्योरेन्स, नेशनल लाइफ र सूर्या लाइफ इन्स्योरेन्सको सेयर मूल्य पनि ४० प्रतिशत अधिक घटेका हुन्। नेपाल पुनर्बीमा कम्पनीको सेयर पनि ५२ हप्ताको उच्चतम विन्दूबाट ४७.३६ प्रतिशत घटेको छ। यी बीमा कम्पनीहरू पनि ५२ हप्ताको न्यूनतम मूल्य हाराहारी किनबेच हुँदै छन्। वाणिज्य बैंक उपसमूहमा समावेश नबिल बैंक, सानिमा बैंक, प्राइम कर्सियल, एनएमबी, प्रभु, सन्राइज र कुमारी बैंक पनि एक वर्ष अवधिको न्यूनतम मूल्य विन्दु नजिक खरिद बिक्री भएका छन्। ५२ साताको सर्वाधिक मूल्य विन्दूबाट उल्लेखित वाणिज्य बैंकको सेयर मूल्य पनि ४० प्रतिशत अधिक घटेका हुन्।

चिलिमे हाइड्रोपावर करिब करिब ४० प्रतिशत घट्दा र बुटवल पावर कम्पनीको सेयर ४३.२४ प्रतिशत घटेका छन्।

Comments

Back to top