सतिश मोरको सफलताको कथा : सामान्य व्यापारीदेखि सफल औद्योगिक घरानाको नेतृत्वकर्तासम्म

​नेपालको औद्योगिक क्षेत्रमा एउटा ब्रान्डको रूपमा स्थापित नाम हो ‘सतिश कुमार मोर’ ।

वीरगञ्जमा जन्मिएका मोरको नाम आफैंमा ‘ब्रान्ड नेम’ त्यसै बनेको होइन । वीरगञ्जको हावापानी, बुवाको मार्गदर्शन र आफ्नै जिम्मेवारी बोधले मोरलाई अहिलेको सफल उद्यमीका रूपमा स्थापित गरेको हो।

सतिशको जन्म ठूलो व्यावसायिक घरानामा भएको होइन ।

सतिश हुर्किएको केही समयपछिमात्रै एक कपडा व्यवसायीको रूपमा उनका बुवाले व्यावसायिक यात्रा शुरू गरेका थिए । 

बुवा मुरलीधरको व्यावसायिक यात्राबाट उनले आफू पनि केही गर्ने सोच बनाए । जुन सोचले आजपर्यन्त उनलाई उद्यमीको दर्जा दिएको छ । 

सतिशको जन्म वीरगञ्जमा भयो । उनले वीरगञ्जको त्रिभुवन माध्यमिक स्कूलबाट एसएलसीसम्म अध्ययन गरे । 

एसएलसीपछि उनले ठाकुरराम बहुमुखी क्याम्पसमा उच्च शिक्षा अध्ययन शुरू गरे ।

समय बित्दै गयो, तर त्यहाँ उनले पढाइमा मन लगाउन सकेनन् । 

विगतका दिनहरू सम्झँदै सतिश भन्छन्, ‘किनकिन मेरो पढाइ त्यहाँ त्यति जमेन ।’ 

त्यसपछि उनी अध्ययनका लागि भारतको बनारस गए । अध्ययनकै शिलशिलामा त्यहाँ उनले करीब ३ वर्ष बिताए ।  

उनी बनारसबाट फर्किएपछि उनको बुवाले वीरगञ्जको धर्मशालामा रेडिमेड कपडाको व्यापार शुरू गरे । 

सो व्यापार सानो थियो । व्यापार विस्तार हुँदै माइस्थानमा पनि कपडा व्यवसाय शुरू गरेको सतिश सम्झन्छन् । 

सतिश दुई भाइलाई त्यो पसल सम्हाल्न लगाएर आफू आयाततिर लागे ।  

त्यतिबेला सतिशले जापानको योकोहामा टायरको पनि बिक्री गर्न थाले ।

त्यसपछि विस्तारै उनको व्यावसायिक छवी बन्न थाल्यो। जापानको टायर बिक्रीपछि उनले दक्षिण कोरियाको टायर पनि ल्याएर बेचे ।

पछि सतिशले चीनबाट पनि विभिन्न सामान ल्याएर बेच्न थाले । 

अनि शुरू भयो औद्योगिक यात्रा

समयक्रमसँगै सतिश व्यावसायिक क्षेत्रमा जम्दै गए । विस्तारै उनले उद्योगतर्फ पनि अगाडि बढ्ने सोच बनाए । 

त्यसपछि उनले नन्दन वनस्पति घ्यु उद्योग सञ्चालनमा ल्याए । यसमा उनले अर्को साथीको समेत साथ लिएका थिए ।

सतिशले शुरूमा स्टील उद्योग खोल्ने सोच बनाएका थिए । त्यसका लागि सिमरामा १५ बिघा जग्गा समेत लिएको उनले सुनाए । तर प्राविधिक कारणवश उनले त्यो उद्योग सञ्चालनमा ल्याएनन् । 

त्यसपछि उनले बुटवलस्थित लुम्बिनी विद्युत् उद्योग खरिद गरे । सँगै सिमरामा प्लास्टिक उद्योग पनि सञ्चालनमा ल्याए ।  

औद्योगिक यात्रामा सतिश जम्दै गए भने व्यापारतिर उनका दुइ भाइ जमिरहेका थिए ।

सतिशका लागि यो समय सफलतै सफलताको समय बन्यो । 

यी उद्योगसँगै सतिशले विभिन्न औद्योगिक घरानाहरूसँग मिलेर शिवम् सिमेन्ट उद्योग सन् २००३ मा सञ्चालनमा ल्याए ।

शिवम् सिमेन्टमा सतिशको लक्की ग्रुपसहित अन्य ग्रुपको पनि लगानी थियो । 

यसपछि चीनको होङ्सी ग्रुपले नेपालमा सिमेन्ट उद्योगमा लगानी गर्न लागेको थियो । 

सतिशले त्यसमा पनि आफ्नो उपस्थिति जनाए ।

७० प्रतिशत होङ्सीको र ३० प्रतिशत नेपाली उद्योगीको लगानीमा होङ्सी सिमेन्ट उद्योग सञ्चालनमा छ । जसमा सतिशको पनि लगानी रहेको छ ।  

समयक्रमसँगै सेवामूलक उद्योगमा पनि उनले लगानी गर्न थाले । 

तत्कालीन बैंक अफ एसियामा सतिशलाई प्रोमोटरका रूपमा लगानीको अवसर मिल्यो । शुरू उनले २ करोड लगानी गरे ।

सो बैंकमा उनी बोर्ड अफ डाइरेक्टर पनि बनेका थिए।

मर्जरबाट एनआईसी एसिया बैंक बनेपछि उनी आफ्नो लगानी झिकेर बाहिरिए ।

पारिवारिक लिगेसी

सतिशले नै शुरू गरेको लक्की ग्रुप अहिले ४० वर्षको विरासतसहित अगाडि बढिरहेको छ । 

लक्की ग्रुप अहिले विशुद्ध पारिवारिक औद्योगिक घराना बन्न पुगेको छ । 

सतिशकै नेतृत्वमा रहेको लक्की ग्रुपमा उनले आफूसँगै आफ्ना दुई भाइ श्रवण र राजकुमारलाई समेटेका छन् ।

यस्तै भाइका छोरा र बुहारी तथा आफ्ना छोरा अमित र बुहारी समेत लक्की ग्रुप अन्तर्गत नै रहेर व्यावसायिक यात्रा गरिरहेका छन् ।

सतिश भन्छन्, ‘जबसम्म बच्चा वा भाइहरूमाथि विश्वास गर्दैनौं, तब हामी सफल हुँदैनौं । जे पनि मै गर्छु भन्ने भावना राख्नुहुँदैन,’ 

सतिशका अनुसार, लक्की ग्रुपमा विकेन्द्रीकरण सिस्टम छ । जसले जुन काम हेरिरहेको छ, उसलाई पूरै अधिकारसहित काम गर्ने वातावरण दिइएको छ । 

‘दिनदिनै निगरानी गर्ने भन्दा पनि समस्यामा हामी छलफल गर्छौं । यसले हामीलाई सफल बनाउने रहेछ,’ सतिश भन्छन् ।

उनले आफ्ना छोरा अमित उच्च शिक्षा अध्ययन सकेर अमेरिकाबाट फर्किएपछि आफूसँगै व्यावसायिक यात्रामा सामेल गराएका छन् ।  

अहिले अमितले समग्र लक्की ग्रुप र गणपति वनस्पति प्रालिलाई अगाडि बढाइरहेका छन् ।  

व्यवसायका दौरान आफू धेरै नै सन्तुष्ट रहेको सतिश सुनाउँछन् । 

लक्की ग्रुपले निर्माण तथा उत्पादन क्षेत्र, व्यापार, सेवामूलक क्षेत्र तथा फाइनान्स र इन्स्योरेन्समा आफ्नो लगानी विस्तार गरेको छ । 

१६ वटा मुलुकमा व्यापार विस्तार गरेको यस ग्रुपले हाल एक हजारभन्दा बढी जनशक्तिलाई रोजगारी दिइरहेको सतिश बताउँछन् ।

बुवाको सहमति र दुई भाइको साथले शुरू भएको व्यावसायिक यात्रामा उनले आज आफू मात्र हैन परिवारलाई नै सफल बनाउँदै लगेका छन् ।

एजेन्सी

Comments

Back to top