सेयरबजारमा नारी लगानीकर्ताको वृद्धि तर सरकारलाई वास्ता भएन
नेपालमा केही पछिल्ला वर्ष यता सेयर बजारमा महिलाहरुको उपस्थिति बढेको छ । घरायसी काम सकेर फुर्सदमा काम गर्न सक्ने अवस्था भएकाले सेयर बजारमा महिलाहरुको उपस्थिति बढेको हो । एकातिर सेयर बजारप्रतिको आकर्षण अर्कातिर आईपिओ भर्न अनलाइन सिस्टम सजिलो, जसले गर्दा यसमा महिलाको आकर्षण बढेको हो । अझैँ पनि संख्या बढ्दो क्रममा रहेको नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् ।
उनका अनुसार पुँजीबजार नारीहरुका लागि निकै लाभदायक छ । पोखरेल भन्छिन्, “मलाई त लाग्छ, पुँजीबजार खासमा गृहिणी महिलाहरूले नै संचालन गर्ने बजार हो । यहाँ अरू अफिस जस्तो ८–१० घण्टाको समय दिनु पर्ने भन्ने हुँदैन । बिहान ११ बजे बजार खुल्छ, ३ बजेसम्म बजार पनि सकिन्छ । घरको काम सकेर थोरै समय दिए पनि पुँजीबजारमा काम गर्न सकिने अवस्था महिलाहरूका लागि निकै उपयोगी हुन्छ । पछिल्ला दिनहरूमा महिलाहरूले यो कुरा बुझेर लगानी बढाउँदै गरेका छन् । यो सकारात्मक पनि छ ।”
नेपालको सेयर बजारमा चारैतिरबाट प्रहार भइरहेको बताउँदै अध्यक्ष पोखरेलले यही बजारमा आफ्नो छाक कटाएर लगानी गर्ने महिलाहरुको संख्या बढेको जानकारी दिइन् । सानो सानो लगानीबाट पनि यहाँ काम गर्न सकिने भएकाले महिलाको संख्या बढेको उनको अनुभव छ ।
साधारण सेयरमा मात्र नभएर सेकेण्डरी मार्केटमा पनि महिलाहरुको उपस्थिति बढेको छ । आफ्नो घाँटी हेरेर हाड निल्नुपर्ने, बजारको अवस्था र कम्पनी हेरेर मात्र लगानी गर्ने हो भने शेयर बजारबाट पछुताउनु नपर्ने अध्यक्ष पोखरेलको सुझाव छ ।
नवप्रवेशी महिलाका लागि पोखरेलले त्यतिकै समय खेर नफाल्न र समयको सदुपयोग गर्न सेयर बजारमा लगानी गरेर आत्मनिर्भर बन्न सल्लाह दिएकी छिन् । लाखौं खर्च गरेर विदेश जानुभन्दा सानो लगानी गरेर पुँजीबजारमा आउन उनले आग्रह गरेकी हुन् ।
कति छन् महिला लगानी कर्ता ?
नेपाल सीडीएसी एण्ड क्लियरिङ लिमिटेडका अनुसार अहिले सेयर बजारमा प्रवेश गर्ने लगानीकर्तामध्ये ४३ प्रतिशत महिला छन् । अहिले नेपालमा डिम्याट खाता खोलेर प्राथमिक सेयर (आईपीओ) भर्ने लगानीकर्ताको संख्या ५० लाखभन्दा माथि छ। जसको ४३ प्रतिशत लगानीकर्ता महिला रहेको तथ्यांक बताउँछ ।
के कारणले पुँजीबजारमा घटबढ हुन्छ ?
पछिल्ला दिनहरूमा नेपालमा पुँजीबजारमा उतार चढाव छ । कुनै दिन ह्वात्तै बढेको बजार भोलिपल्टै त्यही अनुपातले घट्ने गरेको अवस्थाले यसमा लगानी गर्नेहरूबीच अन्योल छ। कतै पुँजीबजारमा गरिएको लगानी असुरक्षित त छैन भन्ने त्रास एकातिर छ भने पुँजीबजारमै लगानी गर्ने प्रतिष्पर्धा पनि घटेको छैन ।
पुँजीबजार देशको अर्थतन्त्रको ऐना नै हो । देशको अवस्था कस्तो छ, सरकारका कदमहरू के कस्ता छन्, जस्ता कारणले बजार घटबढ हुने गरेको हो । पूँजीबजार घटबढलाई सामान्य नै मानिए पनि एकैचोटी धेरै घट्नु वा एकैचोटी धेरै बढ्ने अवस्था आउनु भनेको देशको राजनीतिक अवस्थाले पनि हुने गर्छ । यसलाई ठ्याक्कै यही कारणले नै प्रभाव पार्छ भन्न गाह्रै हुन्छ ।
पुँजीबजारमा सुधार गर्न के गर्नु पर्छ ?
पहिलो कुरा सरकारले यसतर्फ ध्यान दिनु पर्छ । देशमा स्थिर सरकार आएपछि पुँजीबजारका समस्या हट्दै जाने अपेक्षा गरिएपनि बजार घटिरह्यो । घट्नुका कारण सरकारका पुँजीबजारतर्फका निती र कार्यक्रमहरू नै हुन् । सरकारले निती परिवर्तन गर्नु पर्छ । चारैतिरबाट भइरहेको प्रहारले पुँजीबजार थला पर्न लागेको अध्यक्ष पोखरेलको अनुभव छ ।
लगानीकर्ताहरूमा निराशा बढेको हो ?
बजारको अवस्था हेरेर लगानी गर्नु पर्छ, अरूको लहलहैमा लागेर होइन । आफ्नो आर्थिक अवस्था अनुसारको लगानी गर्नुपर्छ । बजार उकालो लागेको स्थितिमा लगानी गर्नु हुँदैन ।
लगानी नै गरे पनि आफ्नो आर्थिक हैसियतभन्दा धेरैमाथि गएर होइन, आफूसँग भएको सानो पूँजीबाट लगानी गर्नुपर्छ । बजार घट्ने बित्तिकै डराउने र बढ्ने बित्तिकै के के नै भयो जस्तो गरेर ऋण खोजेर लगानी गर्नु राम्रो होइन । यसमा गरेको लगानी केही समयका लागि घटेपनि त्यो दीर्घकालिन घट्ने भन्ने होइन । पुँजीबजारको नियम नै यस्तै हो ।
जिम्मेवार नेतृत्वले संयमित भएर बोल्न सुझाव
नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले राष्ट्र बैंकले मौद्रिक नितीको समीक्षामा धितोकर्जामा ४-१२ को सीमा लगाएर परिमार्जन नगर्नु सेयर बजारलाई हेर्ने दृष्टि नै गलत भएको बताइन्। उनले सेयर बजारमा ४/१२ को सीमा नै राख्नु पर्ने अवस्था नभएको बताइन् । पोखरेलले सेयर धितो कर्जा लिँदा नै लगानीकर्ताले धितो मार्जिन राखेर कर्जा लिने गरेको बताउँदै अहिले सरकार एउटा पार्टीको, अर्थमन्त्री अर्काे पार्टी र गभर्नर अर्को पार्टीको भएकाले सेयर बजारको लागि बन्ने निती एक हप्ता, एक महिना तथा दिनैपिच्छे परिर्वतन हुने गरेकाले लगानीकर्ता मारमा परेको जिकिर गरिन् ।
मौद्रिक नितीको समीक्षामा राष्ट्र बैंकले ४/१२ को सीमा हुँदा हुँदै धितो कर्जा मार्जिन परिर्वतन गर्नु नियामक निकाय र सरकारले सेयर बजारलाई कुनरुपमा हेर्छ भन्ने उदाहरण भएको टिप्पणी गरिन् । बजार सँधै बढाउनेभन्दा पनि सेयर बजारप्रति सरकारले ल्याउने निती स्थिर हुनु पर्ने उनको भनाइ छ।चारैतिरबाट सेयर बजार प्रहार गर्ने हो भने भएका लगानीकर्ताको सम्पत्ती स्वाहा भएर बजारबाट निस्किनु पर्ने अवस्था रहने पोखरेलले बताइन् ।
पोखरेलले सेयर बजार लगानीकर्ताको सेन्टिमेन्टले चल्ने भएकाले नियामक निकाय तथा जिम्मेवार नेतृत्वले संयमित भएर बोल्न सुझाव दिइन्। जिम्मेवार नेतृत्वले जे कुरा बोल्नुहुन्छ त्यो नै नीति बन्ने भएकाले बजारलाई असर गर्ने उनको भनाइ छ ।
अध्यक्ष पोखरेलले पछिल्लो समय मुलुकको राजनीतिक अवस्था, बजारमा तरलताको चरम अभाव, विभिन्न समयमा सेयर बजारप्रति फैलाउने अफवाह लगायत कारणले बजारलाई प्रत्यक्ष असर परेकाले लगानीकर्ताले निर्धक्करुपमा सेयर बजारमा लगानी गर्ने अवस्था नभएको दाबी गरिन् । उनले लगानीकर्ताको लगानी घाटामा गएको तथा नियामक निकायको कुदृष्टिका कारण लगानीकर्ता डिप्रेसनमा पुग्न लागेको बताइन् ।
स्रोत: bankingkhabar
Comments