सीमा क्षेत्रमा तनाव कम गर्न भारत–चीनबीच सहमति

भारत र चीनबीचको लद्दाखसमेतका सीमा क्षेत्रमा देखिएको विवाद र त्यहाँ उत्पन्न असमझदारीका विषयलाई लिएर दुवै देशका कुटनीतिक अधिकारीबीच बेइजिङमा वार्ता भएको छ ।

भारतको विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा दुई देशका अधिकारीबीच बुधवार बेइजिङमा २९औँ बैठक बसेको र सीमा क्षेत्रमा देखिएको तनाव मत्थर बनाउनेतर्फ वार्ता सकारात्मक भएको उल्लेख छ । वार्ताका लागि भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेश मन्त्रालयका सहसचिव र चीनका तर्फबाट विदेश मन्त्रालयको सीमा मामिलासम्बन्धी महानिर्देशकले गरेका थिए ।

विज्ञप्तिमा दुवै पक्षले सीमा क्षेत्रमा देखिएको तनावलाई पूर्णरूपमा मत्थर बनाउनेतर्फ गम्भीर विचार–विमर्श गरेका र दुई देशको सीमा रेखा 'लाइन–अफ–एक्चुअल कन्ट्रोल' (एलएसी) का सन्दर्भमा बाँकी रहेका मुद्दा सुल्झाउने विषयमा छलफल भएको उल्लेख छ । बैठकपछि सीमावर्ती क्षेत्रमा शान्ति कायम गर्नेतर्फ कुटनीतिक र सैनिक संवाद शुरु गर्न दुवै पक्ष सहमत भएका भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

पूर्वी लद्दाखमा पर्ने सीमा क्षेत्रलाई लिएर भारत र चीनबीच विवाद हुँदै आएको छ । दुवै देशका सेनाबीच पटक–पटक झडपको स्थिति पनि निम्तिने गरेको छ । एजेन्सी

Comments

Back to top