आईएचसीएलद्वारा ‘भिभान्ता चितवन’ सञ्चालनको घोषणा

भारतको सबैभन्दा ठूलो आतिथ्य कम्पनी इन्डियन होटल्स कम्पनी लिमिटेड (आईएचसीएल) ले चितवनको भरतपुरमा भिभान्ता चितवन सञ्चालन गर्ने भएको छ । 

सीजी हस्पिटालिटीसँगको सहकार्यमा आईएचसीएलले भरतपुरमा यो होटल सञ्चालन गर्न लागेको हो । उक्त परियोजना नेपाली संस्कृति र विलासिताको संगमका रुपमा स्थापित हुने आईएचसीएलले जनाएको छ । 

भिभान्ता चितवनमा विस्तार भएको अवसरमा आईएचसीएल, न्यू बिजनेस एण्ड होटल्स ओपनिङ्सका उपाध्यक्ष दीपिका रावले नेपालमा आईएचसीएलको तेस्रो होटेलका रुपमा भिभान्ता चितवन विस्तार हुनु कम्पनीका लागि अर्को एक महत्वपूर्ण उपलब्धि रहेको बताइन् । 

उनले भनिन्, ‘देशको प्रमुख शहरी केन्द्रहरूमध्येको एक भरतपुर चितवन राष्ट्रिय निकुञ्ज र लुम्बिनी जस्ता विश्व सम्पदाहरूको प्रवेशद्वार हो । भिभान्ता चितवन आईएचसीएल र चौधरी ग्रुपबीचको २५ वर्षदेखिको सुमधुर सम्बन्धको प्रमाण हो । यस अवधीमा आईएचसीएल र सीजीले ५ देशका ११ होटलमा सहकार्य गरिरहेका छन् ।’

यस होटलमा ४५ रूमहरू छन् । भिभान्ताका सुइटमार्फत् पाहुनाहरूले देवचुली लगायत दृश्यावलोकन गर्नसक्ने जनाइएको छ । होटलको मिन्टमा डिनर सहित विभिन्न खाना र बार ‘विंक’ मा आरामका साथै भरपुर मनोरञ्जन लिन सकिने जनाइएको छ । 

त्यस्तै, वेलनेस र मनोरञ्जनका लागि यस होटलमा अत्याधुनिक फिटनेस सेन्टर तथा स्विमिङ पुलको व्यवस्था रहेको जनाइएको छ । सो स्थानबाट सिराइचुली माउन्टेनको दृश्य देख्न सकिने उल्लेख गरिएको छ । होटलमा  २४०० वर्ग फुटको सभाहल र बिजनेस सेन्टर रहेको छ ।

उक्त घोषणा कार्यक्रममा बोल्दै सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले सीजीले विकास गरेको होटलमा ताजसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । “भिभान्ता चितवन थपिएपछि पाहुनाहरूले चितवन राष्ट्रिय निकुञ्जमा ताज सफारी जंगल रिसोर्ट, काठमाडौं र भरतपुरमा भिभान्ता मार्फत आईएचसीएलको आतिथ्यताको अनुभव लिन सक्नुहुनेछ” चौधरीले भने ।

Comments

Back to top