घडीको रोचक इतिहास!

घडी शब्दको उच्चारण अनुसार यो घडाको स्त्री लिंगी शब्द हो । घडा भन्नाले गाग्रो अथवा गाग्री भन्ने बुझिन्छ। पौराणिककालमा समय मापन यन्त्र एक लोटा अथवा प्याला आकारको ताम्र निर्मित भाँडो हुन्थ्यो । यो भाँडो कुनै अनुभवी मानिसले बनाउँथे र यसमा सरकारद्वारा मान्यता प्राप्त छाप लगाउनु पथ्र्याे । यसै भाँडोलाई घडी भनिन्थ्यो । घडीको पिँधमा एउटा सानो प्वाल पारिएको हुन्थ्यो । समय ज्ञात गर्नको लागि घडीलाई एउटा भाँडामा पानी भरेर त्यसै माथी राखिन्थ्यो । घडीको पिँधमा भएको प्वालबाट अलिअलि गर्दै पानी घडीमा भरिदै जान्छ र एक घडी समय पुरा भएपछि घडी पानीमा डुब्छ । फेरि त्यसलाई खाली गरेर दोहराइन्छ । यो थियो पुरानो जमानामा समय देख्ने एकाइ र यन्त्र ‘घडी’ तर आधुनिक जमानामा घडी भनेको हुन त समय देखाउने यन्त्र नै हो । तर एकाइ हैन ।

घडी बनाउने विज्ञानमा सूर्यघडी र यसका काँटाहरू प्रारम्भिक कार्यहरू थिए । सूर्यकिरण हुने समयमा यसले राम्रो काम गरे पनि रात परेपछि यो व्यवस्थाले काम दिदैनथ्यो । सिक्टा घडी लगभग ३५०० बीसीतिर आविष्कार गरिएको थियो । त्यसले आधारभूत रूपमा समय अन्तराल अथवा बितेको समय मापन गर्न मद्दत गर्दथ्यो । सिकटा घडीमा भएको बालुवाको कणले एक सिसाबाट अर्काे सिसामा एक साँघुरो भाँडोद्वारा समय बितेको जानकारी दिन्थ्यो । इजिप्टियन पानी घडी अथवा क्लोप्सिड्रा पनि सिकटा घडीको एक रूप हो, जसले दुई भाँडाहरू बीचको पानी थोपा–थोपा खसाल्न मद्दत गर्दछ र कणीय सामानको सट्टामा प्रयोग गरिन्छ । क्लोसिड्रा लगभग १५०० बीसीतिर आविष्कार गरिएको थियो र यसलाई ग्रीक र रोमनहरूले विस्तृत रूपमा प्रयोग गर्दथे । तर यसले ठीक समय प्रमाणित गर्दैनथ्यो किनकि थोपाको तरङ्गहरू पानीको तापक्रम, तौल र चापद्वारा प्रभावित हुन्थे ।

सन् ७२५ मा एक चिनियाँ यी जिङ नामक भिक्षुले यान्त्रिक घडीको सबैभन्दा राम्रो अग्रदूत मान्न सकिने कार्यको विकास गरे । पछि एक फ्रेन्च बेनेडिक्टाइन भिक्षु जर्बर्ट डी औरिल्याकले गणनपटल सन्तुलन गर्न तौलद्वारा कुद्ने औजारको एक प्रणालीको नमूना तयार पारे । यो आविष्कार विज्ञानको इतिहासमा पहिलो यान्त्रिक घडीको रूपमा सूचित गरिएको छ ।

Comments

Back to top