सामाजिक सञ्जालमा भ्रम छर्नेलाई कारबाही गर्न गृहको निर्देशन

सामाजिक सञ्जालको मर्यादित प्रयोग र साइबर अपराध नियन्त्रण गर्नेलगायतका विषयमा गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई २१ बुँदे निर्देशन जारी गरेको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन जारी गरेका हुन् ।

सबै प्रमुख जिल्ला अधिकारीहरूलाई शान्ति सुरक्षा तथा अपराध नियन्त्रण गर्न निर्देशन दिइएको छ ।

जिल्लामा हुने गैरकानुनी गतिविधिहरूलाई पूर्णतया निस्तेज गर्न तीन महिनाको अल्पकालीन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने र त्यसअनुसार मातहत इकाइहरूलाई निर्देशन दिने भनिएको छ ।

जिल्लाभित्र बढी अपराध हुने क्षेत्रहरूको पहिचान गर्ने, त्यस्तो क्षेत्रमा सुरक्षा निगरानी तथा आकस्मिक चेकजाँच, गस्ती, पट्रोलिङ बढाउन पनि निर्देशन दिइएको छ ।

सामाजिक सञ्जालको मर्यादित प्रयोग र साइबर अपराध नियन्त्रण गर्न पनि निर्देशन दिइएको छ ।

सामाजिक सञ्जालमार्फत् अनर्गल, आधारहीन, भ्रामक सन्देश प्रचारप्रसार गर्ने, जातीय संस्कृति सद्भाव भड्काउने, राष्ट्रिय एकता, व्यक्तिको गोपनीयताको हक अतिक्रमण लगायत गर्ने कार्य नियन्त्रण गरी दोषीलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा एक\एक जना अधिकृत स्तरको कर्मचारी खटाएर डेस्क सञ्चालन गर्न पनि निर्देशन जारी भएको छ ।

Comments

Back to top