इस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि सुरु

इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान महिना आजदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरु दिनभर निराहार व्रत बस्छन् । बिहानको नमाज पढेपछि सुरु भएको रोजा व्रत बेलुकाको नमाज सुनेर मात्रै खाने चलन छ ।

निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय सूर्य उदाउने र अस्ताउने तालिकाका अनुसार तय हुने गर्छ। रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि मात्रै आहार लिइन्छ ।

उर्दू पात्रो अनुसार हिजरी सम्बतको रमजान नवौँ महिना हो । रमजानमै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको मानिन्छ । यहि महिनामा नै अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ ।

शरीरलाई शुद्ध राखेर मात्र रोजा बस्नुपर्छ भन्ने मान्यता छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यस पर्वमा मुसलमानहरु रोजा बस्नुलाई गर्वका रुपमा लिइन्छ । नाबालक, बिरामी, जटिल रोग लागेका र गर्भवतिलाई भने रोजा बस्न अनिवार्य गरिएको छैन ।

दान गर्नु , गरिब र दुःखीलाई सेवा गर्नु यो महिनाको ठूलो विशेषता हो । रमजान व्रत बस्नु अघि साँझ मुसलमानहरुले चन्द्रमा हेर्ने प्रचलन छ ।

 

Comments

Back to top