अमेरिकाबाट बढी लगानीकर्ता आउने वातावरण बनाइदिन राजदूतलाई अर्थमन्त्री पुनकाे आग्रह

अर्थमन्त्री वर्षमान पुनले आउँदो वैशाखमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई आग्रह गरेका छन्। नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनसँग आइतबार मन्त्रालयमा भेटवार्ता गर्दै अर्थमन्त्री पुनले अमेरिकाबाट बढीभन्दा बढी लगानीकर्ता आउने वातावरण बनाइदिन आग्रह गरेका हुन् ।

नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण रहेको भन्दै उनले लगानीकर्ताका लागि आवश्यक कानुनी तथा व्यावहारिक सहजीकरणका लागि सरकार तयार रहेको बताए । अर्थमन्त्री पुनले नेपालमा लगानीका लागि कृषि, उद्योग तथा सूचना प्रविधि क्षेत्रमा राम्रो सम्भावनाको क्षेत्र भएको बताए ।

राजदूत थम्प्सनले लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ता आउन इच्छुक रहेको जानकारी दिए । उनले अमेरिकी लगानीकर्ता नेपालमा आउने वातावरण बनाउन नेपालमा रहेको अमेरिकी दूतावासले सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाए । रासस

 

Comments

Back to top