नाइजेरियामा अपहरणमा परेका करिब २५० विद्यार्थी उद्धार गर्न सेना परिचालन
नाइजेरियाको उत्तरपश्चिममा रहेको एक विद्यालयबाट बन्दुकधारीले अपहरण गरेका २५० भन्दा बढी विद्यार्थीहरूलाई उद्धार गर्न सेना परिचालन गरिएको छ ।
कादुना राज्यमा भएको उक्त घटना एक हप्तामा भएको दोस्रो सामूहिक अपहरण हो ।
पछिल्ला केही वर्षहरूमा उक्त क्षेत्रमा सशस्त्र आपराधिक गिरोहले गाउँ, विद्यालय तथा राजमार्गहरूमा फिरौती भुक्तानीको खोजीमा पीडितहरूलाई लक्षित गर्ने गरेका छन् ।
कादुना राज्यका स्थानीय सरकारी अधिकारीहरूले बिहीबार अपहरणको पुष्टि गरेका छन् । यद्यपी उनीहरूले कति बालबालिकाहरू अपहरण भएका छन् भन्ने तथ्याङ्क भने दिएका छैनन् ।
आक्रमणका क्रममा कम्तीमा एक जनाको गोली हानी मृत्यु भएको स्थानीय बासिन्दाहरूले बताएका छन् ।
जीएसएस कुरीगा विद्यालयका शिक्षक सानी अब्दुल्लाहीले बन्दुकधारीहरूले बिहीबार हवाई फाएर गरी विद्यालयका कर्मचारी र धेरै विद्यार्थीहरू लिएर गएको बताए ।
उनका अनुसार स्थानीय अधिकारीलाई १८७ जना विद्यार्थीहरू विद्यालयबाट र अन्य १०० जना प्राथमिक कक्षाहरूबाट अपहरण गरेका थिए । स्थानीय बासिन्दाले करिब २८० जना बालबालिका र शिक्षक अपहरणमा परेकोे बताएका छन् ।
एक स्थानीय अगुवाका अनुसार डाकुहरूले गोली चलाएको र आफुहरू भेला हुँदासम्म बच्चाहरूलाई जम्मा गरी भागेका थिए ।
सुरक्षा प्रमुखहरूबाट दुई घटनाको बारेमा जानकारी प्राप्त गरेपछि तत्काल उनीहरूको उद्धाका लागि निर्देशन दिएको राष्ट्रपति बोला टिनुबुद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ । बालबालिकाको उद्धारका लागि सेना परिचालनका लागि आदेश दिएको र छिट्टै सेना उक्त क्षेत्रमा पुग्ने उनले बताए।
अप्रिल २०१४ मा बोको हरामका लडाकुहरूले बोर्नो राज्यको चिबोकबाट २५० भन्दा बढी विद्यार्थी अपहरण गरेपछि उक्त घटनाको अन्तर्राष्ट्रियस्तरमा व्यापक आलोचना भएको थियो । तीमध्ये केही बालिका अझै बेपत्ता छन् । एजेन्सी
Comments