भारतीय नागरिकलाई रुसी सेनामा पठाउने गिरोहका केही व्यक्ति पक्राउ
भारतको केन्द्रीय जाँच ब्युरो (सीबीआई)ले भारतीय नागरिकलाई रुसी सेनामा पठाउने तस्करहरुको सञ्जालका केही सदस्यलाई पक्राउ गरेको जनाएको छ। १३ वटा कम्पनीमा छापा मार्दा सङ्गठित नेटवर्कका रुपमा काम गरिरहेका केही व्यक्तिलाई पक्राउ गरेको सीबीआईले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।
रुसी सेनामा भर्ना भएर युक्रेनमा लडिरहेका कम्तीमा दुई जना भारतीय नागरिकको ज्यान गएको सीबीआईलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । रुसी सेनामा भर्ना भएका केही भारतीयले गएको महिना अग्रिम मोर्चामा पठाइनुअघि उनीहरूलाई झुटो बहानामा युद्धको अग्र पङ्क्तिमा पठाएको बताएका छन् ।
तस्करहरुले भारतीय नागरिकलाई राम्रो तलब भएको कामको प्रलोभन देखाउने र रुस पुर्याएपछि सेनामा भर्ना गराउने गरेको पाइएको सीबीआईको विज्ञप्तिमा उल्लेख छ । भारतीय विदेश मन्त्रालयले रुसी सेनामा रहेका झण्डै २० जना भारतीय नागरिकलाई फिर्ता ल्याउन पहल भइरहेको बताएको छ । एजेन्सी
Comments