गाजामा पठाउने सहायतालाई 'बार्गेनिङ चिप' का रूपमा प्रयोग नगर्न इजरायललाई बाइडेनकाे चेतावनी

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा पठाउने सहायतालाई मोलमोलाइको विषय (बार्गेनिङ चिप) का रूपमा प्रयोग नगर्न इजरायललाई चेतावनी दिएका छन् । उनले गाजामा तत्काल अस्थायी युद्धविराम गर्न आह्वान गरेका छन् ।

अमेरिकी संयुक्त सदनमा आफ्नो वार्षिक ‘स्टेट अफ द युनियन’ सम्बोधनका क्रममा राष्ट्रपति बाइडेनले पाँच महिना लामो युद्धका बारेमा अहिलेसम्मकै सबैभन्दा कडा टिप्पणी गर्दै अमेरिकी सेनालाई गाजामा ‘आपत्कालीन सहायता’ को नेतृत्व गर्न पनि आदेश दिएका छन् ।

खाद्यान्न, पानी, औषधि र अस्थायी आश्रयस्थल बोकेका ठूला जहाजलाई गाजा प्रवेशमा सहज हुनसक्ने राष्ट्रपति बाइडेनले बताएका छन् । गाजामा बढ्दो मानवीय सङ्कटका बाबजुद इजरायललाई दिएको निरन्तर समर्थनका कारण राजनीतिक दबाबको सामना गरिरहेका अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिकी कर्मचारीहरू तटीय क्षेत्रमा रहने, सहयोगीहरूले बन्दरगाहबाट तटवर्ती अपरेसनहरू प्रबन्ध गर्ने बताए ।

इजरायलको सबैभन्दा बलियो सहयोगी अमेरिकाले हिजो जोर्डन, बेल्जियम, इजिप्ट, फ्रान्स र नेदरल्यान्ड्सका विमानसहित गाजामा एक हप्ताभन्दा कम समयमा तेस्रो पटक सहायताको अर्काे हवाई आक्रमण गरेको छ । गाजामा सहायताका लागि सडक पहुँच अवरुद्ध भएपछि प्यालेस्टिनी क्षेत्रका लागि संयुक्त राष्ट्र सङ्घीय सहायता संयोजक सिग्रिड कागले हवाई मार्गको स्वागत गर्दै स्थलमार्ग ‘राम्रो समाधान’ रहेको बताए । एजेन्सी

Comments

Back to top