यूरोपमा हुने रूसी निर्यातमा दुई तिहाइभन्दा बढीको गिरावट

यूरोपेली सङ्घ (इयू) ले रूसी तेल तथा ग्यासको खरिदमा भारी कटौती गरेपछि सन् २०२३ मा यूरोपमा हुने रूसी निर्यातमा दुई तिहाइभन्दा बढीले गिरावट आएको रूसको भन्सार कार्यालयले सोमबार जनाएको छ ।

युक्रेनविरुद्धको सैन्य आक्रमणलाई लिएर मस्कोमाथि आर्थिक दबाब सिर्जना गर्न युरोपेली सङ्घ (ईयू) का देशहरूले रूसबाट हुने अधिकांश ऊर्जा खरिद रोकेका छन् । सन् २०२३ मा यूरोपमा हुने रूसी निर्यात ६८ प्रतिशतले घटेर ८४.९ अर्ब डलरमा झरेको रूसको सङ्घीय भन्सार कार्यालयलाई उद्धृत गर्दै रूसी समाचार संस्था इन्टरफ्याक्सले जनाएको छ ।

यूरोपलाई देशको मुख्य ऊर्जा ग्राहकको रूपमा प्रतिस्थापन गरेको एसियामा निर्यात ५.६ प्रतिशतले वृद्धि भई ३०६.६ अर्ब डलर पुगेको रूसले जनाएको छ । पश्चिमा प्रतिबन्धहरूको मारमा परेपछि मस्कोले छुट्टाछट्टै देशहरूसँगको व्यापार तथ्याङ्कसहित आर्थिक तथ्याङ्कहरूको विशाल श्रृङ्खला प्रकाशित गर्न बन्द गरेको छ ।

बेइजिङ र मस्कोबीचको बढ्दो आर्थिक, व्यापारिक र राजनीतिक सम्बन्धकाबीच गत वर्ष दुई देशबीच दुईतर्फी व्यापार २४० अर्ब अमेरिकी डलर पुगेको चिनियाँ भन्सारसम्बन्धी छुट्टाछुट्टै तथ्याङ्कले देखाएका छन् ।

Comments

Back to top