कफी निर्यात गरेर इथियाेपियाले ६ महिनामा ७६ अर्ब रुपैयाँ भित्र्यायाे

इथियोपिया सरकारले कफी निर्यात गरेर छ महिनामा पाँच सय ७१ मिलियन डलर भित्र्याएकाे छ । नेपालीमा रूपान्तरण गर्दा यो ७६ अर्ब रुपैयाँ हुन आउँछ ।

गएको जुलाई ८ तारिखदेखि शुरु भएको चालु आर्थिक वर्ष २०२३/२४ को दोस्रो त्रैमाससम्म एक लाख १८ हजार टन कफी निर्यात गरेको इथियोपियाली कफी तथा चिया प्राधिकरणले जनाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

इथियोपियाले मुख्यगरी साउदी अरेबिया, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका, जर्मनी, जापान र चीनमा कफी निर्यात गर्दै आएको छ । विश्व कफी बजारमा अनिश्चितता र कफी आयात गर्ने देशहरूमा जारी द्वन्द्वले चुनौती खडा भएको पनि प्राधिकरणले जनाएको छ ।

इथियोपियाले गएको आर्थिक वर्षमा दुई लाख ४० हजार टन कफी निकासीबाट एक अर्ब तीन करोड डलर भित्र्याएको थियो । अहिले भने निकासीमा कमी आउने देखिएको छ ।

अरेबिका कफीको उत्पत्ति इथियोपियाबाटै भएको मानिन्छ, कफी उत्पादनलाई देशको कृषिमा आधारित अर्थतन्त्रको मेरुदण्ड भनिएको छ । 'वाइन' देखि फ्रुटी र चकलेटसम्ममा प्रयोगका लागि इथियोपियाको कफी संसारभर चर्चित छ ।

एजेन्सी

Comments

Back to top