बेरुत विष्फोटमा हमासका उपनेता अरौरीसहित ६ जनाको मृत्यु
इजरायलले गरेको ड्रोन आक्रमणका कारण हमासका उप राजनीतिक नेताको मृत्यु भएको बताएको छ । हमासको दोस्रो बरियतामा रहेका सालेह अल–अरौरीको दक्षिणी बेरुतमा ड्रोन हमलामा मारिएको बीबीसीले जनाएको छ ।
इजरायलसँगको युद्धमा अहिलेसम्म मारिएकामध्ये ५७ वर्षिय अरौरी हमासका सबैभन्दा ठूला नेता हुन् ।
इजरायलले हमासविरुद्ध लेबनानमा गरेको सर्जिकल स्ट्राइकमा नेता अरोरीसहित अन्य ६ जना मारिएको दाबी गरेको छ । लेबनानका संचारमाध्यमका अनुसार इजरायली हमलामा उपनेता अरौरी, दुईजना हमास सैन्य कमाण्डरसहित ६ जनाको मृत्यु भएको हो ।
इजरायली प्रवक्ता मार्क रेगेभले सालेह अल–अरौरीको “हमास नेतृत्व विरुद्धको सर्जिकल स्ट्राइक“ मा मृत्यु भएको पुष्टि गरेका छन् । हमासले आफ्ना नेताको मृत्युको निन्दा गर्दै लेबनानी सार्वभौमसत्तामा इजरायलले धाबा बोलेकोे प्रतिक्रिया दिएको छ ।
यसैबीच लेबनानका प्रधानमन्त्री नजिब मिकातीले इजरायलले आफुहरुलाई टकरावमा तान्न खोजेको आरोप लगाएका छन् । इजरायलले हमास लक्षित आक्रमण गरेको भन्दै लेबनानलाई उत्तेजित नहुन भनेको छ ।
Comments