धौलागिरी लघुवित्तको शेयर कारोबार रोक्का, स्पष्टीकरण पेश गर्न नेप्सेको निर्देशन

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का गरिदिएको छ। कम्पनीले लाभांश घोषणाको निर्णय गरेर समयमै जानकारी नदिएको भन्दै कारोबार रोक्का गरिदिएको हो ।

कम्पनीले कात्तिक २२ गते अपरान्ह ४ः०० बजे सञ्चालक समितिको बैठक बसी आव २०७९।८० को लाभांश घोषणा सम्बन्धी निर्णय गरेर नेप्सेमा कात्तिक २३ गते बेलुका ६.५१ बजे मात्र जानकारी दिएको नेप्सेले जनाएको छ ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत संस्थाले नेप्सेमा पेश गर्नुपर्ने प्रावधान रहेको छ । कम्पनीले उक्त नियमको पालना नगरेको नेप्सेले जनाएको छ ।

नेप्सेले कम्पनीलाई समयमै जानकारी दिन नसकेको विषयमा ३ दिनभित्र स्पष्टीकरण पेश गर्न आग्रह गर्दै कम्पनीको धितोपत्रको कारोबार रोक्का गरिदिएको हो। कम्पनीले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजी १३ करोड ३१ लाख रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने १ करोड ९९ लाख ६५ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

Comments

Back to top