सर्वोत्तम सिमेन्टले मंसिर ६ देखि बुक बिल्डिङ्ग विधि मार्फत आईपीओ बिक्री खोल्दै

सर्वोत्तम सिमेन्ट लिमिटेडले नेपालमा नै पहिलो पटक मंसिर ६ गतेदेखि बुक बिल्डिङ्ग विधि मार्फत सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा मंसिर ६ गतेदेखि मंसिर १० गतेसम्म नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका योग्य संस्थागत लगानीकर्ताहरुका लागि सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले बिक्रीमा ल्याउने सेयर संख्याको ४० प्रतिशत अर्थात २४ लाख कित्ता सेयर बिक्री खुला हुनेछ ।

योग्य संस्थागत लगानीकर्ताहरुका लागि नेप्सेले सञ्चालन गर्ने बोलकबोल प्रक्रिया मार्फत सेयर बिक्री गर्न लागेको हो । कम्पनीले सुरुमा बिक्री मूल्य सीमा ५०१ रुपैयाँदेखि ७५१ रुपैयाँ राखेकोमा हाल त्यसलाई घटाएर ४०१ रुपैयाँ देखि ६०१ रुपैयाँ कायम गरेको छ।

कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर बुक बिल्डिङ्ग विधि मार्फत निष्काशन गर्न अनुमति पाएको थियो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यस्तै सह–निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Comments

Back to top