थाइ एयरवेजले नेपालमा पुनः उडान थाल्दै

थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाइ एयरवेज इन्टरनेसनलले नेपालमा पुनः उडान थाल्ने भएको छ। भूकम्पपछि उडान बन्द गरेको यो कम्पनीले आगामी नोभेम्बरदेखि नेपाल उडान पुनः सुचारु गर्ने भएको छ।

थाइ एयरवेजले सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसलाई आफ्नो जनरल सेल्स एजेण्ट (जीएसए) समेत नियुक्त गरेको छ । उक्त नियुक्ति अगस्ट १, २०२३ बाट लागू भएको कम्पनीले जनाएको छ ।

सम्झौता अनुसार सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसले थाइ एयरवेज इन्टरनेसनलका लागि सम्पूर्ण ग्राहक र एजेन्ट सपोर्ट सेवा सहित चौतर्फी सेल्स, मार्केटिङ र विमानस्थलस्थित सेवा उपलब्ध गराउने भएको छ ।

सन् १९६८ को डिसेम्बरमा नेपालका लागि पहिलो पटक उडान सञ्चालन गरेको थाइ एयरवेजले नेपाली उड्डयन इतिहासमा लामो समय उडान गरेको छ ।

थाइ एयरवेज इन्टरनेसनलका चिफ कमरसियल अफिसर कोराकोट चटासिङ्घाले थाई एयरवेज इन्टरनेशनलको काठमाडौं उडान पुनः सञ्चालनमा आउनु सुखदः भएको बताए ।

थाइल्याण्ड भित्रका विभिन्न आन्तरिक तथा विश्व प्रसिद्ध गन्तव्य फुकेट, पट्टाया र क्राबी साथै राजधानी सहर बैंककलाई थाइ एयरवेजको उडान पुनः सञ्चालनले नेपाली पर्यटक र यात्रुहरूको बढ्दो संख्यालाई सहज हुने उनले बताए ।

अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया र विश्वका विभिन्न सहरहरुमा थाइ एयरवेजको उडान रहेकाले नेपालका यात्रुहरुलाई सहज र सुरक्षित उडान विकल्पहरु प्रदान गर्नुका साथै नेपालको पर्यटन प्रवर्धन गर्न सक्षम हुने उनको भनाइ छ ।

 

Comments

Back to top