एनसेलको फोरजी सेवा जुम्लामा विस्तार
एनसेल आजियाटा लिमिटेडले पश्चिम नेपालको कर्णाली प्रदेशको दुर्गम जिल्ला जुम्लामा आफ्नो फोरजी सेवा विस्तार गरेको छ । यसका लागि एनसेलले जुम्लाको चन्दननाथ नगरपालिका, तिला गाउँपालिका र तातोपानी गाउँपालिकामा एक–एक गरी कम्पनीले तीनवटा नयाँ टावर जडान गरेको छ ।
एनसेलले चन्दननाथ नगरपालिका, तिला गाउँपालिका र तातोपानी गाउँपालिकामा फोरजी विस्तार गरेपछि फोरजी सेवाको पहुँच अर्थात् कभरेज कुल जनसंख्याको ९१.३९ प्रतिशत पुगेको जनाएको छ । गत आर्थिक वर्षमा देशैभर स्थापना गरिएका नयाँ टावरहरूले फोरजी सेवामा पहुँच वृद्धि र सेवा विस्तारमा योगदान दिएको पुर्याएको कम्पनीको भनाइ छ ।
आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धताबमोजिम ग्राहकहरूलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै एनसेलले २०७४ जेठमा काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो । गत आर्थिक वर्ष २०७९/८० मा मात्रै एनसेलले देशका विभिन्न भागमा ३३८ नयाँ साइट स्थापना गरेको थियो ।
त्यसैगरी, एनसेलले ६० भन्दा बढी जिल्लाका झण्डै एक हजार ४५० टावरमा फोरजी क्षमताको स्तरोन्नति गरेको छ ।
Comments